९ मंसिर २०८१, आईतवार
,
Latest
आईपीएल अक्सनः अर्शदीप सिंहलाई पञ्जाव किंग्सले १८ करोडमा किन्यो खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती चिकित्सा शिक्षा आयोगको बैठक: पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कोहलीको ३०औँ टेस्ट शतक, डन ब्राडम्यानलाई पछि पारे चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाध्यक्षले फिर्ता गरे ६५ हजार बेरुजु भत्ता



अ+ अ-

झापा । झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्तावापत लिएको रु ६५ हजार फिर्ता गरेका छन् ।

नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङले मङ्गलबार नगरपालिकामा आएर सो रकम फिर्ता गर्नुभएको नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीले जानकारी दिए । स्थानीय तहको निर्वाचनपछि विसं २०७४ पुस २७ गते मेचीनगर नगरपालिकाको पहिलो नगरसभाले जनप्रतिनिधिको सेवासुविधा तोक्ने क्रममा वडाध्यक्षलाई मासिक भत्ता रु २३ हजार ५०० दिने निर्णय गरेको थियो ।

तर, २०७५ जेठ १३ गते प्रदेश नं १ ले नगर तथा गाउँपालिकाका जनप्रतिनिधिको सेवासुविधा सम्बन्धमा पारित गरेको कानूनमा नगरपालिकाका वडाध्यक्षको मासिक भत्ता रु २० हजार मात्र हुने उल्लेख भयो । महालेखा परीक्षकको प्रतिवेदनमा प्रदेशको कानून बन्नुअघि लिएको बढी सेवासुविधालाई बेरुजुमा राखेर जनप्रतिनिधिबाटै असुल गर्नुपर्ने उल्लेख गरिएको छ ।

मेचीनगर नगरपालिकामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायत जनप्रतिनिधिले प्रदेश कानून बन्नुअघि बढी सेवासुविधा लिएवापत बेरुजुमा परेको मासिक भत्ता रु ४५ लाख रहेको छ । त्यस्तो बेरुजु फिर्ता गर्ने पहिलो जनप्रतिनिधि वडाध्यक्ष तामाङ भएका छन् । ‘कानूनभन्दा माथि कोही हुँदैन, बेरुजु देखिएको सेवासुविधा मैले इमान्दारीपूर्वक फिर्ता गरेको हूँ’, सेवासुविधा फिर्ता गर्नुभएका वडाध्यक्ष तामाङ भन्छन्, ‘अरु जनप्रतिनिधिले पनि यसरी नै नगरपालिकालाई सेवासुविधा फिर्ता गर्नुपर्छ ।’

मेचीनगरको पहिलो नगरसभाबाट नगरप्रमुखको रु ४० हजार १५०, उपप्रमुखको रु ३५ हजार, वडाध्यक्ष र कार्यपालिका सदस्यको रु २३ हजार ५०० र वडा सदस्यको रु सात हजार मासिक पारिश्रमिक हुनेगरी निर्णय भएपछि सोहीअनुसार जनप्रतिनिधिले सेवासुविधा लिएका थिए । तर, प्रदेशसभाले पारित गरेको सुविधासम्बन्धी ऐनमा नगरप्रमुखको रु ३० हजार ५००, उपप्रमुखको रु २६ हजार ६००, वडाध्यक्षको रु २० हजार, कार्यपालिका सदस्यको रु १२ हजार ५०० र वडा सदस्यको रु छ हजार ५०० मासिक भत्ता तोकिएको छ । सोहीअनुसार २०७४ साउनदेखि २०७५ जेठसम्मको अवधिमा मेचीनगरका जनप्रतिनिधिले लिएको बढी पारिश्रमिक फिर्ता गर्नुपर्ने भएको हो ।