९ आश्विन २०८१, बुधबार
,
Latest
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर? अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान: सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन अहिलेको आर्थिक विकास मोडलले नै असमानता बढायो: विज्ञहरु परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान सिराहामा बाबुको हत्या अभियोगमा छोरा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गड्यौला मलमा किसानको आकर्षण



अ+ अ-

गोरखा । पछिल्लो समय जिल्लाका किसानले रासायनिक मलको सट्टामा गड्यौला मल प्रयोग गर्न थालेका छन् । विशेषगरी अमिलो जातका फलफूलका बोटबिरुवामा किसानले गड्यौला मल बढी प्रयोग गर्न थालेका हुन् ।

“कागती, सुन्तला, निबुवालगायत फलफूलको बोटबिरुवामा गड्यौला मल प्रयोग गर्दा फल राम्रो दिने गरेको पाइयो”, पालुङटार नगरपालिका–९ पाण्डेबेसीका कृषक धनमाया थापाले भने, “आफँैले बनाउन पनि सक्ने र माटो पनि नबिगार्ने भएकाले गड्यौला मल बढी प्रयोग गर्न थालेका हौँ ।”

पाण्डेबेसीमा करीब ३० रोपनी जमीनमा कागतीको व्यावसायिक खेती शुरु गरिएको छ । स्थानीय २५ महिला मिलेर संयुक्तरुपमा कागतीको व्यावसायिक खेती शुरु गरेका उहाँले जानकारी दिए । यहाँका सबै कृषकले घरमै गड्यौला मल बनाएर प्रयोग गर्न थालेको कृषक थापाको भनाइ थियो ।

“एकपटक प्रयोग गरेपछि माटोमा मलिलोपना र चिसोपना पनि लामो समयसम्म बसिरहने रहेछ”, उनले भने, “रासायनिक मल प्रयोग गर्दा बारी बिग्रने अर्कोपटक मल प्रयोग गर्दा अघिल्लो पटकको तुलनामा बढी प्रयोग गर्नै पर्ने बाध्यता हुने भएकाले माटोको उब्जनीपना जोगाउन पनि गड्यौला मल राम्रो देखिएको हो ।”

घरमै गड्यौला मल उत्पादनका लागि कृषकले तालीमसमेत लिएको सोही ठाउँका अर्का स्थानीयवासी देवनिधि पाण्डेले जानकारी दिए । “घरमा एउटा भए पनि गाईबस्तु पालेकै छौँ, त्यसबाहेक घरमै गड्यौला मल बनाउनका लागि चाहिने आवश्यक पराल, भुसलगायत खेर जाने सामग्रीको पनि सदुपयोग भएको छ”, उनले भने ।

गड्यौला मल प्रयोगबाट उत्पादनले फाइदा पुग्न थालेपछि यहाँका कृषकले गाउँमै गड्यौला मलको उत्पादन बढाउने तयारीसमेत गरिरहेको पाण्डेको भनाइ थियो । “थोरै मल राखे पनि उत्पादन राम्रो हुने, बनाउन पनि गाह्रो नहुने भएपछि कृषकसमेत उत्साहित भएका छन्”, उनले भने, “अब पूरै गाउँमा गड्यौला मल उत्पादनमा जोड दिन लागिपरेका छौँ ।” करीब दुई महीनामा गड्यौला मल तयार भइसक्ने र बिक्री गर्न चाहेमा प्रतिकेजी रु ५० सम्म यस्तो मल बिक्री हुने स्थानीयवासी बताउँछन् । त्यहाँका कृषकलाई गड्यौला मल उत्पादन र प्रयोगका लागि सहमति नामक संस्थाले समूह गठन गरी सामूहिक तालीमसमेत दिएको छ ।

गड्यौला मल प्रयोग गर्दा गन्ध नआउने, प्रयोग गर्न सजिलो र स्वास्थ्यमा असर पनि नपर्ने तथा फलफूलको बोटबिरुवामा प्रयोग गर्दा उत्पादनसमेत लामो समयसम्म दिने भएकाले पनि किसानको आकर्षण बढेको शहीद लखन गाउँपालिका–२ का अर्का कृषक खड्गबहादुर थापाले बताए ।

“गड्यौला उत्पादन गर्न थालेको करीब एक वर्ष भयो”, बोट बिरुवाका लागि गाईभैँसी बस्तुभाउको मलभन्दा बढी पोषिलो हुने रहेछ”, उनले भने, “यहाँका किसानले समूहमा मल उत्पादन गरेर कागती, सुन्तलालगाय फलफूलमा प्रयोग गर्दै आएका छन् ।”

थापाले गड्यौला मल प्रयोग गर्दा फलफूलका बोट बिरुवाले छिटो पालुवा दिने र फलसमेत राम्रो हुने गरेको बताए । गड्यौला मल बनाउनका लागि थोरै गाईको पुरानो मलसँगै खेर गएको डाँठ, पात टुक्र्याएर पनि उत्पादन गर्न सकिने भएकाले पनि सबैले घरमै बनाउन सक्ने उनको भनाइ थियो ।