काठमाडौं । नेपालका लागि रसियाली कार्यबाहक राजदूत एन्द्रेइ किसेलन्कोले रुसी महासंघले नेपाली मिडियाहरुबाट नेपाल भित्रका र अन्तर्राष्ट्रिय घटनाहरूको वस्तुनिष्ठ र सन्तुलित समाचार कभरेजको अपेक्षा गरेको बताउनुभएको छ ।
आज साँझ दुताबासमा नेपाली मिडियाका केही सम्पादकहरुलाई संक्षिप्त सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।
उहाँले आफूहरुले आवश्यक सूचना तथा जानकारी प्राप्त गर्न तथा रुसी दूताबासका तर्फबाट आफ्ना जानकारीहरु स्पष्ट पार्न नेपाली मिडियाका प्रतिनिधिहरूसँग व्यावसायिक सम्पर्क कायम राख्ने पनि बताउनुभयो ।
सो सम्बोधनमा उहाँले भन्नुभयो “हामी विश्वस्त छौँ कि इमान्दार र सम्मानजनक सूचना आदानप्रदानले रुसी महासंघ र नेपालबीचको सम्बन्ध, विश्वास, पारस्परिक समझदारी र मित्रतालाई सुदृढ पार्न योगदान पुर्याउनेछ ।”










