काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आगामी मंसिर १४ गते उपनिर्वाचनको तयारी सुरु गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको आयोगले बताएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । त्यस्तै, प्रदेशअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ र भक्तपुर–१ ‘ख’ मा मंसिरमा चुनाव हुन लागेको आयोगले जानकारी दिएको छ ।
स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४२ वडाध्यक्षका लागि पनि मंसिर १४ मा चुनाव हुँदैछ ।
४७ स्थानमा उपनिर्वाचन
आयोगले विभिन्न कारणले रित्त हुने पुगेका ४७ स्थानमा उपनिर्वाचन गर्न लागेको हो । आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक स्थान जनप्रतिनिधिविहीन छ । ३८ वडामा पनि जनप्रतिनिधि छैनन् ।
गत १५ फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन बनेको हो ।
भक्तपुर–१ ‘ख’ बाट निर्वाचित सांसद् हरिहरण लामिछानेको निधनपछि तीन नम्बर प्रदेशसभामा पनि एक स्थान रिक्त छ । ५१ वर्षीय सांसद् लामिछानेको मस्तिश्कघातका बिरामी थिए ।
यस्तै, प्रदेश पाँचका प्रदेशसभा सदस्य उत्तरकुमार ओली कार दुर्घटनामा परेका थिए । दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित ओलीको उपचारको क्रममा निधन थियो । गण्डकी प्रदेशका सांसद् टेकबहादुर घर्तीको गत मंसिरमा नयाँ दिल्लीमा निधन भएको थियो । बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित घर्ती जण्डिसका बिरामी थिए ।
स्थानीय तहमा एक मेयर र दुई गाउँपालिका अध्यक्षको निधन भइसकेको छ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको गत साउनमा निमोनियाबाट निधन भएको थियो ।
भाषण गर्दागर्दै बेहोस् भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको होस त्यसपछि खुलेन । संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटवालको सडक दुर्घटनामा परेर निधन भएको थियो ।
६ महिना कार्यकाल बाँकी हुँदै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पद रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ । स्थानीय तहमा भने एक वर्षभन्दा कम अवधि बाँकी छ भने उपनिर्वाचन हुँदैन ।