काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लामो विवादपछि स्कुल विभाग प्रमुखको टुंगो लगाएको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको हो । स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी थियो । बैठकमा यसबारे कुनै विवाद नभएको एक सचिवालय सदस्यले बताए ।
स्रोतका अनुसार शुक्रबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा स्कुल विभागको प्रमुखको टुंगो लागेको थियो
यस्तै नेकपाले संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमलाई दिएको छ । विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल, प्रचारमा नारायणकाजी श्रेष्ठ र अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ ।