काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको बताएका छन् ।
बालुवाटारमा झापा क्षेत्र न.५ का अगुवाकार्यकर्तासँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकहरुसँग भने, ‘गतहप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठिक छ भनेका छन् । अब २०–२५ बर्ष केही हँुदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।’
प्रधानमन्त्री ओलीले आफू १५ बर्ष अघि बिरामी भएको र १२ बर्ष अघि मृगौला प्रत्यारोपण गरेको समेत स्मरण गरे । उनले भने, ‘म अहिले होइन ,१५ बर्षअघि विरामी थिए । १२ बर्षअघि मृगौला प्रत्यारोपण गरेको हुँ । त्यही कहानीलाई अहिले प्रचार गरिएको छ ।’
नेकपा अगुवा कार्यकर्ताहरुले झापा क्षेत्र नं ५ को दमक ,गौरादह नगरपालिका र कमल गाउँपालिकामा औद्योगिक पार्क निर्माण गर्ने परियोजना लगानी बोर्डले स्वीकृत गरिदिएकोमा धन्यवाद दिएका छन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीले औद्योगिक पार्क निर्माण हुन लागेकोमा सबैलाई बधाइ दिए ।