काठमाडौँ। नेपाली कांग्रेसको १५ महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी दिएकाको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरेको हो । सभापति एक, वरिष्ठ उपसभापति एकसहित चार उपसभापति, महामन्त्री तीन, सहमहामन्त्री १५, कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ ।
सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । त्यसअनुसार निर्वाचित हुने पदाधिकारी सङ्ख्या १९ जनाको हुनेछ । निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ ।
पार्टी सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभापति पदमा वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र पूर्वक्षेत्रीय सभापति श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको छ ।
यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापति (दुई पदका लागि) गोविन्द भट्टराई, डा चन्द्रकान्त भण्डारी, प्रा डा चन्द्रमोहन यादव, दीपक गिरी, देवराज चालिसे, धनराज गुरुङ, मधु आचार्य, डा मिनेन्द्रप्रसाद रिजाल र सुरेन्द्रराज पाण्डेको उम्मेदवारी परेको छ । महिला उपसभापति (एक पदका लागि) पुष्पा भुसाल, समावेशी उपाध्यक्ष (एक पदका लागि) जीवन परियार, फरमुल्लाह मन्सुर, विनोदकुमार चौधरी, रञ्जित कर्ण र सीता गुरुङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, खुला महामन्त्री (दुई पदका लागि) अमरसिंह पुन, उदयशम्शेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, डा सुनिल शर्मा र डा सन्तोष उपाध्यायको उम्मेदवारी परेको छ भने महिला महामन्त्रीमा डा डिला सङ्ग्रौला पन्त, महालक्ष्मी उपाध्याय (डिना) र रीता खनालको उम्मेदवारी परेको छ ।
यस्तै, १४ सहमहामन्त्री पदमा सहमहामन्त्री महिलातर्फ (एक पदका लागि) नानु बाँस्तोला र प्रतिमा गौतम, सहमहामन्त्री खुला (दुई पदका लागि) अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्र कँडेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुङ्गानाले उम्मेवारी दिनुभएको छ ।
त्यसैगरी, सहमहामन्त्री आदिवासी जनजाति (एक पदका लागि) ओमबहादुर घर्तीमगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमान सिंह मास्के र बहादुरसिंह लामाको उम्मेवारी परेको छ भने सहमहामन्त्री दलिततर्फ (एक पदका लागि) नरेन्द्र पासवान, प्रकाश रसाइली स्नेही, मानबहादुर नेपाली र लक्ष्मी परियारको उम्मेवारी परेको छ ।
यस्तै, मधेसी सहमहामन्त्री (एक पदका लागि) अजयकुमार चौरासिया, अभिषेकप्रताप शाह, किरण यादव, नागिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ताकुमारी यादव र रामपल्टन शाहको उम्मेवारी परेको छ भने खस आर्यतर्फ सहमहामन्त्री (एक पदका लागि) जगदीश्वरनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतको उम्मेवारी परेको निर्वाचन समितिले जनाएको छ ।
सहमहामन्त्री थारूतर्फ (एक पदका लागि) तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीको उम्मेवारी परेको छ भने सहमहामन्त्री मुस्लिमतर्फ (एक पदका लागि) अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा फिरदोस आलमको उम्मेवारी परेको छ । त्यसैगरी, सहमहामन्त्री पिछडिएको क्षेत्र (एक पदका लागि) जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर विष्ट, नारायणप्रसाद भट्टराई, मीनबहादुर भाम र राजन कुँवरको उम्मेवारी परेको छ ।
यस्तै, सहमहामन्त्री अल्पसङ्ख्यक वा अपाङ्गतातर्फ (एक पदका लागि) आङगेलु शेर्पा, नगेन्द्रकुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकालीको उम्मेवारी परेको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी, केन्द्रीय सदस्यमा पनि उल्लेख्य मात्रामा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रथम नामावलीमा कुनै दाबीविरोध रहेमा प्रक्रियासम्मत दाबी विरोधका लागि आज बिहान १०ः०० देखि १२ः०० बजेसम्मका लागि समय तोकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो । रासस








