काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार ढल्ने हल्ला चलाउनेहरूमाथि व्यंग्य गर्दै सरकार नढल्ने बताएका हुन्।
उनले पटक–पटक सरकार ढल्ने भविष्यवाणी हुने गरेको भन्दै भने, ‘कहिलेकाहीँ सुनिन्छ, सरकार कमजोर भयो, सरकार ढल्छ, अहिलै ढल्छ, भोलि ढल्छ, दसैँमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, नेपाल संवत्मा ढल्छ, ढल्छ कि ढल्छ भनेको सुन्छु।’
‘ढल्न त ढल्छ, तर यो पटक–पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोस भएर ढल्छ,’ उनले भने।
लामिछानेले वर्तमान सरकार व्यक्तिलाई चुनेर नभई इतिहास बदल्ने उद्देश्यका साथ बनेको दाबी गरे। उनले जनमतको हुर्मत लिने काम नगर्न राजनीतिक दल तथा नेताहरूलाई आग्रहसमेत गरे।