काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब फकाउनुभन्दा छोडिदिनु उपयुक्त हुने सुझाव दिएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसको नयाँ नेतृत्वलाई देउवाको विषयमा यस्तो सुझाव दिएका हुन्।
‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु,’ उनले भने।
लामिछानेले कांग्रेसको लामो राजनीतिक इतिहासको सम्मान गर्दै नयाँ नेतृत्वले बदलिँदो राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताए। कांग्रेसको लामो इतिहास नै उसको ठूलो शक्ति भएको उल्लेख गर्दै उनले विगतबाट पाठ सिकेर नयाँ यात्रातर्फ अघि बढ्नुपर्ने धारणा राखे।








