काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान अवस्था गम्भीर र चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।
नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले देशसँगै लोकतन्त्र र संविधानसमेत अप्ठेरो अवस्थामा पुगेको बताएका हुन्। सरकारका पछिल्ला अभिव्यक्ति, गतिविधि र क्रियाकलापले मुलुक स्वेच्छाचारितातर्फ जाने जोखिम बढेको उनको भनाइ थियो।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर हुन नदिन लोकतन्त्र पक्षधर शक्तिहरूबीच सहकार्य र एकता आवश्यक रहेको बताए।
प्रचण्डले नेपालको समावेशी लोकतन्त्रसहितको संघीय लोकतान्त्रिक गणतन्त्र शान्ति सम्झौताको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै त्यससँग जोडिएका केही विषय अझै टुंगिन बाँकी रहेको बताए। ती विषय समयमै सम्बोधन गर्न नसके मुलुक थप जटिल परिस्थितिमा पुग्न सक्ने उनको चेतावनी थियो।
उनले प्राप्त उपलब्धिको संरक्षण गर्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।