काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर त्यसको कार्यान्वयनमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले आगामी २० वर्षभित्र नेपाललाई विकसित देशको स्तरमा पुर्याउने लक्ष्यसहित साझा विकास योजना बनाउनुपर्ने बताएका हुन्।
मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै विकासमा ठूलो फड्को मारेको उदाहरण दिँदै उनले नेपालले पनि दीर्घकालीन सोचका साथ विकासको योजना अघि बढाउनुपर्ने बताए।
‘अहिले पनि समय छ, सबैले सोच्नुस्। अरू देश कसरी विकास भए ? हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?’ उनले भने।
भट्टराईले देश विकासका लागि सबै राजनीतिक दलको साझा सहमतिमा योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने विषयमा प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखे।
‘त्यसको एउटा योजना बनाऔँ। त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौँ। त्यसो गरे मात्रै देश बन्छ,’ उनले भने।
उनले राजनीतिक स्थिरता र मुलुकको भविष्यका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्नेमा पनि जोड दिए। ‘अब पाठ सिकौँ। अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ भट्टराईले भने।








