सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने भन्दै नहुने वा सर्ने विषयमा कुनै दुविधा नराख्न आग्रह गर्नुभएको छ ।
आइतबार सुर्खेतमा बसेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्रतियोगिताको उत्सव आजैदेखि सुरु भएको बताउनुभयो ।
‘दशौं राष्ट्रिय खेलकुद हुने हो कि होइन भनेर कसैले पनि दुविधा नमान्नुहोला,’ उहाँले भन्नुभयो, ‘दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो ।’
मन्त्री पोखरेलले विगतका राष्ट्रिय खेलकुद प्रतियोगिताभन्दा प्रभावकारी ढंगले यसपटकको प्रतियोगिता सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रतियोगिता सफल बनाउन तीनै तहका सरकार, खेलकुद क्षेत्रका सम्पूर्ण सरोकारवाला र सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न सबै मिलेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।








