काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आउँदो मंसिर ७ गतेदेखि इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचआरआर) सँगको सहकार्यमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक २०२६’ आयोजना गर्ने भएको छ ।
जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणका विषयमा समुदायस्तरदेखि प्राज्ञिक समुदायसम्म सहभागी गराएर सचेतनामूलक तथा सहभागितामूलक सप्ताहव्यापी कार्यक्रम आयोजना हुनेछन् ।
आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र आईएचआरआरका कार्यकारी निर्देशक सुरज गौतमले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
जलवायु तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला बिच सहकार्य सुदृढ गर्ने, सहरी वातावरण र विपद् उत्थानशीलताका विषयमा नगरस्तरीय सञ्जाल निर्माण गर्ने तथा बालबालिका, युवा, समुदाय, जोखिममा रहेका वर्ग, अनुसन्धानकर्ता र सरोकारवालाको समस्या समाधानका उपायमा सहभागिता बढाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।








