काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले संसद कमजोर भएको भन्ने टिप्पणीलाई खारेज गर्दै संसदको मर्यादा, काम गर्ने गति र प्रभावकारितामा कुनै कमी नआएको दाबी गर्नुभएको छ ।
गत वैशाख २८ देखि असोज १६ सम्म सञ्चालन भएको संसदको बर्खे (बजेट) अधिवेशन समापनको सन्दर्भमा सिंहदरबारमा आयोजित पत्रकार अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो । विगतमा सांसद र त्योभन्दा अघि सचेत नागरिकका रूपमा संसदलाई नजिकबाट नियालेको अनुभव स्मरण गर्दै उहाँले अहिले आफूले नेतृत्व गरिरहेको संसद्लाई कमजोर भन्न नमिल्ने प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन। संसद्को आफ्नै मर्यादा र काम गर्ने गति हुन्छ । हामी करिव तीन करोड नेपालीका लागि काम गर्न खटिएका हौँ । यस्तो जिम्मेवारीमा मेरो व्यक्तिगत थकानको कुनै अर्थ रहँदैन, खटिनु मेरो कर्तव्य (ड्युटी) हो ।’
सदनमा नयाँ अभ्यास र रचनात्मक बहस
सभामुख अर्यालले परम्परागत संसदीय भाष्य चिर्दै यस अधिवेशनमा नयाँ अभ्यासहरूको थालनी गरिएको बताउनु भयो । विगतमा सत्तापक्षले सभामुखको समर्थन र प्रतिपक्षले अन्धविरोध मात्रै गर्ने परिपाटीलाई बदलेर यसपटक दुवै पक्ष जनजीविकाका महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित भएको उहाँको दाबी छ । वर्तमान प्रतिनिधि सभामा ३७ प्रतिशतभन्दा बढी ४० वर्षमुनिका युवा, लैङ्गिक तथा यौनिक अल्पसंख्यक एवं अग्रज राजनीतिज्ञहरूको सन्तुलित मिश्रण रहेकाले यसले दीर्घकालीन रूपमा सकारात्मक नतिजा दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले दलका शीर्ष नेताहरूलाई रोस्ट्रमबाटै जनताका आवाज उठाउन महिनामा दुई पटक समय उपलब्ध गरायौँ । यसले गर्दा नेताहरूले आफ्ना धारणा निर्धक्क राख्न पाउनुभयो र सदन सांसदहरूले बोल्ने वास्तविक थलोका रूपमा स्थापित भयो ।’
विपद्का कारण रोकियो प्रधानमन्त्रीको सम्बोधन
कार्यपालिकालाई जवाफदेही बनाउनु सांसद, नागरिक र सञ्चारमाध्यम सबैको साझा दायित्व भएको उल्लेख गर्दै सभामुखले संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकार पछि हट्न नहुने धारणा राख्नुभयो ।
सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सम्माननीय प्रधानमन्त्री भदौ १० गते संसद आउने कार्यसूची रहे पनि अकस्मात् आइपरेको प्राकृतिक विपत्तिका कारण रोकिएको उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘मुलुकमा बाढी–पहिरोको महाविपत्ति आइलागेपछि राज्यको सम्पूर्ण ध्यान पीडितको घाउमा मलम लगाउनेतर्फ केन्द्रित भयो । त्यस्तो संकटको घडीमा सदनमा जवाफ दिनुभन्दा राहत र उद्धारमा लाग्नु प्राथमिकता बन्यो । आगामी दिनमा सांसदहरूका हरेक प्रश्नको जवाफ सरकारबाट आउनेछ ।
‘आगामी अधिवेशन नयाँ भवनबाटै चल्छ, ढिलाइ गर्नेलाई जरिवाना होस्’
सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनबारे बोल्दै सभामुख अर्यालले अब बस्ने आगामी अधिवेशन नयाँ भवनबाटै सञ्चालन हुनेमा आफू ढुक्क रहेको बताउनु भयो ।
विकास निर्माणका काम तोकिएको समयमै पूरा हुनुपर्नेमा जोड दिँदै उहाँले ढिलासुस्ती गर्ने निर्माण व्यवसायीमाथि जरिवाना लगाउनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल








