१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

तटबन्धले जोगायो गैँडाकोटको बस्ती
अ अ+ अ-

नवलपरासी। यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै ठूलो बाढी आयो । विगतका वर्षमा अहिलेको भन्दा सानो बाढी आउँदा पनि गैँडाकोटका धेरै बस्ती डुबान र कटानको समस्यामा पर्ने गरेका थिए । यद्यपि यसपटक इतिहासमै ठूलो बाढी आउँदा पनि धेरै बस्ती जोगियो ।

इतिहासकै ठूलो बाढी आउँदा पनि यसपटक गैँडाकोटको वडा नं २ को एउटा बस्तीबाहेक अन्य वडामा बाढीले कुनै क्षति पुर्याउन नसकेको स्थानीय बताउँछन् । नारायणी पुलभन्दा उत्तरतर्फ नदीकिनारमा तटबन्ध नहुँदा एउटा बस्ती डुबानमा परेको थियो । पुलबाट दक्षिणतर्फ निर्माण गरिएको करिब पाँच किलोमिटर लामो तटबन्धले अन्य बस्ती जोगाउन सफल भएको स्थानीयको बुझाइ छ । गैँडाकोटका मनोज परियारले नदीकिनारमा ठूलाठूला ढुङ्गा राखेर गरिएको तटबन्धबाट नदीकिनारको बस्ती जोगिएको बताउनुभयो ।

“नदीकिनारमा ठूलाठूला ढुङ्गा राखिएको छ, जसले हामीलाई जोगायो”, उहाँले भन्नुभयो, “ढुङ्गा नाघेर नदीको छाल घरसम्म आएको थियो, यो ढुङ्गा नहालेको भए हाम्रो धेरै क्षति हुने थियो ।” बाढीले कटान गर्ने क्षेत्रमा निर्माण गरिएको तटबन्धका कारण बस्ती जोगिएको छ । यस्तै, कटान पनि रोकिएको परियारको बुझाइ छ । बाढी आउँदा जोखिमपूर्ण अवस्थामा रहने नदीकिनारका बस्ती तथा खेतीयोग्य जमिन सुरक्षित पार्न गरिएको तटबन्धले जिल्लाका धेरै बस्ती जोगाएको छ ।

“अघिल्ला वर्षमा नदीमा बाढी आउँदा किनारका बासिन्दा सुरक्षित ठाउँ खोजेर हिँड्नुपर्ने अवस्था थियो”, गैँडाकोट–६ का ४१ वर्षीय राजेन्द्र थापाले भन्नुभयो, “यस वर्ष नारायणीमा ठूलो बाढी आए पनि हामी ढुक्कसँग घरमै बस्न सक्यौँ ।”

आफ्नो वडामा नदी व्यवस्थापनको काम भएपछि कटान रोकिँदा आफूहरू ढुक्क भएर बस्न पाएको थापाले बताउनुभयो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय चितवनले आर्थिक वर्ष २०८२÷८३ मा नवलपुरतर्फको नदीकिनारमा व्यवस्थित तटबन्ध निर्माण गरेको थियो ।

बाढी आउँदा रातभर सुत्न नसकिने अवस्थाको स्मरण गर्दै स्थानीय खगीसरा रानाले नदी व्यवस्थापनको काम भएपछि ढुक्कसँग बस्न पाइएको बताउनुभयो । गत वर्षदेखि यस क्षेत्रमा नारायणी नदीको कटान पूर्ण रूपमा रोकिएको रानाले बताउनुभयो । अघिल्ला वर्षका बाढीले खेतीयोग्य जमिन बगरमा परिणत गर्दै उठिबास लगाएको उहाँले बताउनुभयो ।

“नारायणीको बाढीले मेरो पनि जग्गा लगभग काटेर सक्यो”, किनारमा बस्तीभन्दा अग्लो पारेर गरिएको तटबन्ध देखाउँदै उहाँले भन्नुभयो, “पोहोर साल सरकारले यो ड्याम नबनाएको भए सायद म पनि घरबारविहीन हुने अवस्था आउँथ्यो होला ।” अबका दिनमा नदीकिनारका बासिन्दा डराउनुपर्ने अवस्थाको अन्त्य भएको रानाको भनाइ छ । नदी कटान रोकिएपछि आफूहरूको आधा चिन्ता सकिएको उहाँले बताउनुभयो ।

पुलबाट दक्षिणतर्फ नदी किनारमा गैँडाकोटको वडा नं २, ५, ६, ७ र ९ को भूभाग पर्दछ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले नदीकिनारमा बहुवर्षीय ठेक्का लगाएर व्यवस्थित तटबन्धको काम सम्पन्न गरेको छ । कार्यालयले करिब एक हजार ५०० मिटर बिग बोल्डर तथा करिब पाँच किलोमिटरमा क्रङ्क्रिट तटबन्ध गरेको गैँडाकोट नगरपालिका–६ का वडाध्यक्ष शुभाष चापागाईँले बताउनुभयो ।

“नदीकिनारलाई भिरालो बनाउँदै गरिएको पक्की तटबन्धका कारण बस्ती जोगिन सफल भएको हो”, उहाँले भन्नुभयो, “गैँडाकोटमा गरिएको तटबन्ध नेपालकै नौलो र नयाँ प्रयोग भएको मैले जानकारी पाएको छु ।” बस्तीभन्दा अग्लो पारेर गरिएको तटबन्धका कारण ठूलो बाढीले पनि बस्तीमा कुनै क्षति पुर्याउन नसकेको उहाँले बताउनुभयो । यद्यपि कङ्क्रिट तटबन्ध गरिएको केही स्थानमा बाढीले क्षति पुर्याएको भन्दै त्यसलाई व्यवस्थित रूपमा मर्मत गर्नुपर्ने चापागाईँको भनाइ छ ।

यही असोज ११ गते नारायणीमा पानीको सतह बढेर सबैभन्दा उच्च ११ दशमलव ९३ मिटर पुगेको जल मापन केन्द्र देवघाटले जनाएको छ ।

नदीकिनारमा गरिएको तटबन्ध बस्तीभन्दा अग्लो भएका कारण बस्तीमा हुने डुबान र कटानबाट गैँडाकोटका नदी तटीय वडा जोगिएका हुन् । रासस