काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको कार्यालय आगामी ४ अक्टोबरदेखि पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालनमा आउने भएको छ।
एनआरएनए पोर्चुगलले बिहीबार सूचना जारी गर्दै लिस्बनस्थित कार्यालयबाट पोर्चुगलमा रहेका नेपाली समुदायले आवश्यक सूचना, सेवा, सहयोग तथा परामर्श प्रत्यक्ष रूपमा लिन सक्ने जनाएको हो।
संघका अनुसार कार्यालय लिस्बनको अभेनिदा देफेन्सोरेस दे शाभेस नं. ४, १०००–१०९ लिस्बोनमा सञ्चालन हुनेछ। कार्यालय एसआईसीको अगाडि रहेको जनाइएको छ।
त्यसैगरी, एनआरएनए पोर्चुगलको आधिकारिक वेबसाइटसमेत सञ्चालनमा आइसकेको संघले जनाएको छ। नेपाली समुदायले वेबसाइटमार्फत संघका आधिकारिक सूचना, सेवा, सहयोग, कार्यक्रम तथा आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्। साथै, आफ्ना जिज्ञासा तथा सेवा र सहयोगसम्बन्धी अनुरोधसमेत वेबसाइटमार्फत पठाउन सकिने व्यवस्था गरिएको संघले जनाएको छ।
पोर्चुगलमा रहेका नेपाली समुदायको आवश्यकता र हितलाई केन्द्रमा राख्दै सेवा थप व्यवस्थित, प्रभावकारी र पहुँचयोग्य बनाउने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याइएको संघले जनाएको छ।
संघका अध्यक्ष सुजन लामा मोक्तान र सचिव सुरज भण्डारीले नेपाली समुदायको विश्वास, सहयोग, सुझाव र साथका लागि आभार व्यक्त गर्दै कार्यालय तथा वेबसाइटको उपयोग गर्न आग्रह गरेका छन्।








