काठमाडौँ । युवा महिला नेतृ बसन्ती भाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि काठमाडौँ क्षेत्र नं. १० बाट महिला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको छ।
३५ वर्षीया भाट स्टाफ नर्ससमेत हुनुहुन्छ। उहाँले वि.सं. २०७२ सालदेखि नेपाली कांग्रेसको सदस्यता लिएर पार्टीका विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आउनुभएको छ। बाल्यकालदेखि नै कांग्रेसका गतिविधिसँग जोडिँदै आउनुभएकी भाट सामाजिक सेवा, राजनीति तथा कला क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ।
चन्द्रागिरि नगरपालिका–५, काठमाडौँ निवासी भाट वडा क्षेत्रीय प्रतिनिधिदेखि नगरको ३५ वर्ष उमेर समूहअन्तर्गत महिला सदस्यका रूपमा निर्वाचित हुँदै अहिले कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको हो।

ग्रामीण परिवेशबाट संघर्ष गर्दै नर्सिङ शिक्षा हासिल गर्नुभएकी भाटले गरिबी, खेतीपाती, किसान तथा ग्रामीण जीवनका कठिनाइलाई नजिकबाट अनुभव गर्नुभएको छ। स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभवका कारण महिला, युवा तथा आम नागरिकका समस्या र दुःखलाई आफूले नजिकबाट बुझ्ने गरेको उहाँ बताउनुहुन्छ।
भाट सामाजिक सेवासँगै कला क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। उहाँले ब्युटिसियनका रूपमा काम गर्नुका साथै विभिन्न भिडियो तथा चलचित्रमा कलाकार तथा नायिकाका रूपमा समेत अभिनय गर्नुभएको छ।
“राजनीति मेरो लागि पदभन्दा पनि सेवा गर्ने माध्यम हो। महिला, युवा तथा समाजका विभिन्न क्षेत्रमा रहेका समस्या समाधानका लागि आफ्नो क्षमता र अनुभवले सकेसम्म निस्वार्थ भावनाले काम गर्न चाहन्छु,” भाटले भन्नुभयो।
उहाँले आगामी राजनीतिक यात्रामा महिला, युवा तथा आम नागरिकका सवाललाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै आफ्नो अभियानमा साथ, सहयोग, विश्वास र आशीर्वादको अपेक्षा गर्नुभएको छ।







