१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति

सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति
अ अ+ अ-

धनुषा। नेपाल-भारत सीमाको सुरक्षा व्यवस्थापन, सूचना आदानप्रदान तथा सीमावर्ती क्षेत्रमा हुने गतिविधि नियन्त्रणका विषयमा दुवै देशका सुरक्षा अधिकारीबीच छलफल भएको छ ।

धनुषाको नगराइन नगरपालिका-२ स्थित जटही सीमानाकामा भारतको ४८औँ बटालियन सशस्त्र सीमा बल (एसएसबी) जयनगरले आज आयोजना गरेको समन्वय बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

बैठकमा नेपाली पक्षको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गर्नुभएको थियो भने भारतीय पक्षको नेतृत्व ४८औँ बटालियन एसएसबी जयनगरका कमान्डेन्ट राजेन्द्रकुमारले गर्नुभएको थियो । बैठकमा खुला सीमाका कारण उत्पन्न हुनसक्ने सुरक्षा चुनौती, सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण, सूचना आदानप्रदान र दुवै देशका सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले मधेस प्रदेशमा सशस्त्र प्रहरीले सीमा सुरक्षाका क्षेत्रमा गरिरहेको काम तथा सीमावर्ती क्षेत्रमा देखिएका सुरक्षा चुनौतीबारे भारतीय सुरक्षा अधिकारीसँग छलफल गरिएको जानकारी दिनुभयो ।

नेपाल र भारतबीच खुला सीमा रहेकाले सीमा क्षेत्रमा देखिने समस्या समाधानका लागि दुवै देशका सुरक्षा निकायबीच नियमित सम्पर्क र समन्वय आवश्यक रहेको प्रहरी महानिरीक्षक पौडेलले बताउनुभयो । सीमा क्षेत्रमा देखापर्ने सम्भावित सुरक्षा चुनौतीबारे समयमै सूचना आदानप्रदान गरी आवश्यक कदम चाल्ने विषयमा बैठकमा विशेष जोड दिइएको उहाँको भनाइ छ । “सीमा क्षेत्रमा दुवै देशको सुरक्षाका लागि कसरी प्रभावकारी रूपमा काम गर्ने भन्ने विषयमा छलफल भएको छ”, उहाँले भन्नुभयो ।

सीमावर्ती क्षेत्रमा कुनै सुरक्षा समस्या उत्पन्न भए तत्काल आपसी सम्पर्क र समन्वय गर्ने तथा शान्ति, सुव्यवस्था कायम राख्न सहकार्यलाई निरन्तरता दिने विषयमा दुवै पक्षबीच समझदारी भएको जनाइएको छ । बैठकमा सीमा सुरक्षासँगै नेपाल-भारत सुरक्षा निकायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो । सीमामा खटिने सुरक्षाकर्मीबीच नियमित सम्पर्क र समन्वय कायम हुँदा सीमावर्ती क्षेत्रमा उत्पन्न हुने समस्या पहिचान तथा समाधानमा सहज हुने धारणा सहभागी अधिकारीहरूले राखेका थिए ।

खुला सीमाका कारण दुवै देशका नागरिकबीच सामाजिक, पारिवारिक तथा आर्थिक सम्बन्धसमेत रहेको अवस्थामा नागरिकको सहज आवतजावतलाई कायम राख्दै सीमा सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।

बैठकमा सीमा क्षेत्रमा हुनसक्ने तस्करी, अवैध आवतजावत तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान र स्थानीय तहमा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।

बैठकमा नेपाली पक्षबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुबहादुर भट्ट, वरिष्ठ प्रहरी उपरीक्षक कमलप्रसाद तिमल्सिना, प्रहरी उपरीक्षक भीमबहादुर बिष्ट, प्रहरी उपरीक्षक पंकज पौडेल, प्रहरी नायब उपरीक्षक खेमराज बोगटी र प्रहरी निरीक्षक श्रीराम घिसिङलगायतको सहभागिता थियो ।

त्यस्तै भारतीय पक्षबाट ४८औँ बटालियन एसएसबी जयनगरका द्वितीय इन कमान्ड तथा वरिष्ठ अधिकारी रजनिषकुमार मोरल, सहायक कमान्डेन्ट (इन्टेलिजेन्स) तथा थाना प्रभारी अङ्कुशकुमार र पिपरौनका सहायक कमान्डेन्ट धनञ्जय मिश्रलगायत सहभागी हुनुहुन्थ्यो ।

बैठकमा सीमा क्षेत्रमा शान्ति तथा सुरक्षा कायम राख्न नियमित सम्पर्क, आपसी समन्वय र सूचना आदानप्रदानलाई निरन्तरता दिने विषयमा दुवै पक्षले प्रतिबद्धता जनाएका छन् । रासस