काठमाडौँ: हिमालय एअरलाइन्सले काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान सेवा पुनः सञ्चालन गरेको छ। एअरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) र चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल (PVG) बीच सोमबार, सेप्टेम्बर २८ देखि नियमित उडान सुरु गरेको हो।
एअरलाइन्सको उडान नम्बर H9 787 ले सेप्टेम्बर २८ मा साँझ ७ः११ बजे काठमाडौँबाट सांघाईका लागि उडान भरेको थियो। उक्त विमान सेप्टेम्बर २९ मा चिनियाँ समयअनुसार बिहान २ः३६ बजे सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

त्यसैगरी, उडान नम्बर H9 788 ले सेप्टेम्बर २९ मा चिनियाँ समयअनुसार बिहान ४ः३६ बजे सांघाईबाट काठमाडौँका लागि उडान भरी सोही दिन नेपाली समयअनुसार बिहान ८ः१३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एअरलाइन्सले जनाएको छ।
उडान सेवा पुनः सुरु भएसँगै हिमालय एअरलाइन्स काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा नियमित सिधा उडान सञ्चालन गर्ने एकमात्र वायुसेवा कम्पनी बनेको जनाएको छ। यससँगै नेपाल र चीनको प्रमुख विश्वव्यापी सहर सांघाईबीचको हवाई सम्पर्क पुनःस्थापित भएको छ।
प्रारम्भिक चरणमा एअरलाइन्सले यस रुटमा सातामा दुई उडान सञ्चालन गर्नेछ। काठमाडौँबाट सांघाईका लागि प्रत्येक सोमबार र शुक्रबार तथा सांघाईबाट काठमाडौँका लागि प्रत्येक मंगलबार र शनिबार उडान हुनेछन्। यात्रुको माग र यात्रु भारका आधारमा आगामी दिनमा उडान संख्या थप गर्ने योजना रहेको एअरलाइन्सले जनाएको छ।
एअरलाइन्सका अनुसार काठमाडौँ–सांघाई सिधा उडानले नेपाल र चीनबीच पर्यटन, व्यापार तथा जनस्तरको सम्पर्क विस्तारमा सहयोग पुर्याउनेछ। नेपालको मुख्य पर्यटन सिजन सुरु भएसँगै सेवा पुनः सञ्चालन हुनुले चीनबाट नेपाल आउने पर्यटकको संख्या बढाउन तथा नेपालको पर्यटन र आतिथ्य क्षेत्रलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्क मजबुत बनाउन एअरलाइन्स प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सांघाई उडानले दुई देशका नागरिकबीचको सम्बन्ध थप सुदृढ गर्नुका साथै पर्यटन र व्यापार प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार एअरलाइन्सले चीनका थप गन्तव्यमा नियमित उडान विस्तार गर्ने प्रयाससमेत जारी राखेको छ।








