काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको ६ महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम गर्न सरकार पूर्णतः असफल भएको टिप्पणी गर्नुभएको छ ।
मंगलबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया तथा प्रधानमन्त्रीको पछिल्लो अमेरिका भ्रमणसँग जोडिएका घटनाक्रमले सरकारको विश्वसनीयतामाथि प्रश्न उठाएको बताउनुभयो ।

सरकारले ६ महिनाको अवधिमा उल्लेख्य काम गर्न नसकेको आरोप लगाउँदै उहाँले सुकुम्बासी समस्या समाधान, सार्वजनिक संस्थानमा भएका नियुक्ति र पारदर्शिताका विषयमा सरकार चुकेको दाबी गर्नुभयो । ‘जान्नेलाई छान्ने’ भन्दै सत्तामा आएको सरकारले आफ्ना मान्छे भर्ती गर्ने उद्देश्यले सार्वजनिक संस्थानमा हस्तक्षेप गरेको उहाँको आरोप थियो ।
आर्थिक क्षेत्रतर्फ पनि सरकारको कार्यसम्पादन कमजोर रहेको बरालले बताउनुभयो । राजस्व संकलनमा गिरावट आएको, लगानीको वातावरण कमजोर बनेको र सेयर बजार ओरालो लागेको उल्लेख गर्दै उहाँले बजेट तथा मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन सरकार असफल भएको दाबी गर्नुभयो । त्यसका कारण निजी क्षेत्र लगानी गर्न डराइरहेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघीय महासभाको भ्रमणबारे टिप्पणी गर्दै बरालले भ्रमणपछि सार्वजनिक भएका प्रस्तुति तथा कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरी सार्वजनिक गरिएका तस्बिरले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुर्याएको दाबी गर्नुभयो । प्रधानमन्त्रीले महासभाको भ्रमणबारे संसद्लाई जानकारी गराउनुपर्नेमा त्यसलाई बेवास्ता गरेको भन्दै उहाँले प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको आरोप लगाउनुभयो ।
बजारमा व्याप्त महँगी, कृत्रिम अभाव र मिसावट नियन्त्रणमा समेत सरकारले प्रभावकारी काम गर्न नसकेको बरालले बताउनुभयो । सरकारका वाचा र व्यवहारबीच ठूलो खाडल रहेको भन्दै उहाँले ६ महिनाको समीक्षा गर्दा सुशासनका क्षेत्रमा कुनै सकारात्मक संकेत नदेखिएको जिकिर गर्नुभयो ।







