१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली

पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति र अनुशासनविपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि अब कडाइका साथ कारबाही गरिने बताउनुभएको छ।

मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले हालै सम्पन्न तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई पार्टीभित्रको सन्देह अन्त्य गर्ने ‘कट–अफ डेट’का रूपमा लिइएको बताउनुभयो। त्यसपछि अराजकता फैलाउने, अनुशासन उल्लंघन गर्ने वा पार्टीको नीतिविपरीत अभिव्यक्ति दिने गतिविधि स्वीकार्य नहुने उहाँको भनाइ थियो।

अध्यक्ष ओलीले ‘लोकतन्त्रको पुनर्वहाली’ र आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीलाई पार्टीका मुख्य कार्यभारका रूपमा अघि सारिएको बताउनुभयो। निर्वाचनमा केन्द्रित भएर पार्टीलाई विजयी बनाउने लक्ष्यसहित जनसंगठनहरूको पुनर्गठन र संगठन सुदृढीकरणमा लाग्न उहाँले नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो।

पार्टीभित्रको आन्तरिक विवाद र गुटगत गतिविधिमा नअल्झिन आग्रह गर्दै उहाँले अब प्रतिनिधि परिषद्को बैठकतर्फ नलाग्ने बताउनुभयो। निर्वाचनको तयारी गर्ने समयमा आपसी विवाद र टकरावमा समय खर्च गर्न नहुने उहाँको भनाइ थियो।

अध्यक्ष ओलीले देशलाई पछाडि धकेल्ने, संवैधानिक प्रक्रिया मिच्ने तथा विध्वंश र आतंक सिर्जना गर्ने प्रयास भइरहेको दाबी गर्दै त्यसलाई रोक्न एमाले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो। गत वर्ष भदौ २३ र २४ गते भएका घटना तथा राष्ट्रिय सम्पत्ति, सिंहदरबार र व्यक्तिका घरमा भएको आगजनीले मुलुकलाई संकटतर्फ धकेलेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले एमालेले देशलाई लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियामा फर्काउन तथा संविधानको रक्षा गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो। फागुनमा भएको निर्वाचनमा पार्टीले बेहोरेको क्षति बाह्य आक्रमण, योजनाबद्ध विध्वंश र पार्टीभित्रका आन्तरिक कमजोरीसँग सम्बन्धित रहेको उल्लेख गर्दै अब सामूहिक स्वार्थलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

विरोधीहरूले फैलाएका भ्रमलाई तथ्य, तर्क र प्रमाणका आधारमा चिर्न डिजिटल अभियान सञ्चालन गरिने पनि अध्यक्ष ओलीले बताउनुभयो। अन्य दलसँग पार्टी एकताको चर्चा गर्नु समयको बर्बादी हुने उल्लेख गर्दै उहाँले आवश्यकताअनुसार चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुन सक्ने तर अनावश्यक रूपमा पार्टी एकताको बहसमा नफस्ने स्पष्ट पार्नुभयो।

नेताहरूले राजधानी वा सुविधाजनक स्थानमा बसेर कार्यक्षेत्रको जिम्मेवारी पूरा गर्न नसक्ने भन्दै अध्यक्ष ओलीले जिल्ला तथा तोकिएको कार्यक्षेत्रमै खटिएर कार्ययोजना बनाउन निर्देशन दिनुभयो। अब नेता–कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताका आधारमा नभई काम र श्रेष्ठताका आधारमा गरिने उहाँले बताउनुभयो।

पार्टीका नेता–कार्यकर्तालाई आफूलाई परिवर्तन गर्दै शालीनता र विनम्रताका साथ जनतामाझ पुग्न आग्रह गर्दै अध्यक्ष ओलीले संगठन निर्माणमा सम्पूर्ण शक्ति केन्द्रित गर्न निर्देशन दिनुभयो। साथै, केन्द्रीय कमिटीले अघि बढाएको डिजिटल अभिलेखीकरण र संगठन सुदृढीकरणको काम यसै महिनाभित्र सम्पन्न गर्न तथा नयाँ सदस्यता वितरणलाई तीव्रता दिन उहाँले निर्देशन दिनुभयो।

भर्चुअल कार्यक्रममा एमाले उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र रघुजी पन्त, महासचिव शंकर पोखरेल तथा सचिवहरू पद्मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल र डा. राजन भट्टराईलगायत नेताहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन महासचिव पोखरेलले गर्नुभएको थियो।