काठमाडौं । असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिएको सूचना भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि तीन दिन भीषण वर्षा हुनेसम्बन्धी कुनै पनि पूर्वानुमान नगरेको स्पष्ट पारेको हो । पछिल्लो मौसमी गतिविधिमा समेत खासै फेरबदल नदेखिएको विभागले जनाएको छ ।
विभागले भीषण वर्षासम्बन्धी भ्रामक सूचनाको पछि नलाग्न तथा त्यस्ता सूचना नफैलाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालबाट सूचना लिन विभागले अनुरोध गरेको छ ।
मौसमसम्बन्धी थप जानकारीका लागि मौसम पूर्वानुमान महाशाखा, बबरमहल, काठमाडौंको फोन नम्बर ११५५ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।








