काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढी नेपालका लागि मात्र नभई विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनुभएको छ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढीले जलवायु परिवर्तनका कारण उत्पन्न हुन सक्ने जोखिमप्रति विश्वको ध्यानाकर्षण गराएको बताउनुभयो।
उहाँले भन्नुभयो, “भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?”
प्रधानमन्त्री शाहले नेपालका लागि जलवायुजन्य महाविपत्ति केवल मानवीय घटना मात्र नभई ‘विकासको आपत्काल’ समेत भएको स्पष्ट पार्नुभयो।
ऐतिहासिक रूपमा बढी प्रदूषण गर्ने राष्ट्रहरूले अब बढी जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै उहाँले जलवायु न्याय संयुक्त राष्ट्रसङ्घका दस्ताबेजमा मात्र सीमित सुन्दर वाक्यांश बन्न नहुने बताउनुभयो।
“जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन। हाम्रा नागरिकले निरन्तर आफ्नो विगतको पुनर्निर्माण गरिरहनुको सट्टा अब आफ्नो भविष्य निर्माण गर्न पाउनुपर्छ,” उहाँले भन्नुभयो।
प्रधानमन्त्री शाहले नेपाल जलवायु परिवर्तनसम्बन्धी सबै पक्षले आ–आफ्ना दायित्व पूरा गरून् भन्ने पक्षमा रहेको बताउनुभयो। उहाँले जलवायुजन्य विपद्लाई भूराजनीतिक आरोप–प्रत्यारोपको विषय बनाउन नहुनेमा पनि जोड दिनुभयो।
नेपालमा पछिल्ला विपद्का कारण १ हजार ४ सयभन्दा बढी मानिसको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रलाई तनावको क्षेत्र नभई जलवायुजन्य जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि साझा प्रयोगशाला बनाउनुपर्ने बताउनुभयो।
हिमालय क्षेत्रमा भूउपग्रहबाट प्राप्त सूचना, प्रविधि तथा विशेषज्ञता साझा गर्नुपर्नेमा जोड दिँदै उहाँले जलवायुजन्य विपद्को सामना गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो।








