६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल

गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल
अ+ अ-

अर्घाखाँची– कांग्रेस उपसभापति पुष्पा भुसाल गौतमले आसन्न १५ औं महाधिवेशनबाट गगन थापा सभापतिमा सर्वसम्मत चयन हुने बताएकी छन् ।

वर्तमान आवश्यकता र समयको मागअनुसार कांग्रेसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिसँग जोड्न थापाको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।मंगलबार सन्धिखर्कमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा भुसालले कांग्रेसका कार्यकर्ता र आम जनताले थापालाई सभापतिको भूमिकामा हेर्न चाहेको दाबी गरिन् । अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यमा भने सबै पक्षलाई सम्मानजनक रूपमा समेटेर अघि बढ्नुपर्ने उनले बताइन् ।

‘कांग्रेसका कार्यकर्ता र जनताले गगनलाई हेर्न चाहेका छन्,’ उनले भनिन्, ‘सभापतिमा थापा सर्वसम्मत चयन हुनुहुन्छ । अन्य पदाधिकारी र सदस्यमा पनि सबैलाई सम्मानजनक स्थानमा समेटेर जानुपर्छ ।’ आफु पनि पदाधिकारीमै रहेर काम गर्ने अपेक्षा रहेको बताइन् ।

विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टि र महाधिवेशन प्रक्रियालाई लिएर जारी विवाद समाधान गर्दै सबै पक्षलाई महाधिवेशनमा सहभागी गराउनुपर्ने भुसालले बताइन् । पार्टीलाई बलियो बनाउन कुनै पनि नेता वा समूहलाई बाहिर राख्न नहुने उनले बताइन् ।

पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सम्मानित अभिभावकका रूपमा स्वीकार गरेर अघि बढ्न आफूहरू तयार रहेको उनले बताइन् । देउवालाई १५ औं महाधिवेशन उद्घाटनका लागि आग्रह गरिएको जानकारी दि“दै उनले पार्टी र लोकतन्त्र निर्माणमा देउवाको योगदानको सम्मान गर्नुपर्ने धारणा राखिन् ।

‘पार्टीका पूर्वसभापति, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सम्मानित अभिभावक मानेर जान हामी तयार छौं,’ उनले भनिन्, ‘सभापतिज्यूले महाधिवेशन उद्घाटन गरिदिन देउवालाई भनिसक्नुभएको छ । दुई पटक सभापति भएर र पटकपटक प्रधानमन्त्री भएर लोकतन्त्र र देशलाई अघि बढाउन उहा“ले महत्वपूर्ण योगदान गर्नुभएको छ । त्यसको हामी सम्मान गर्छौं ।’

देउवाले महाधिवेशन उद्घाटन गरे कांग्रेसभित्र एकताको सन्देश जाने र पार्टी थप बलियो हुने भुसालले बताइन ्। देउवा महाधिवेशनमा सहभागी हुनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ ।

महाधिवेशनमा सहभागी हुन नसक्ने वा असन्तुष्ट रहेका नेताहरूलाई समेत महाधिवेशनपछि सम्मानजनक भूमिकामा समेट्ने विषयमा छलफल भइरहेको उनले बताइन् । ‘महाधिवेशनपछि पनि सहभागी नहुने नेताहरूलाई समेट्ने विषयमा छलफल चलेको छ,’ उनले भनिन्, ‘सबैलाई सम्मानजनक स्थानमा समेटेर लैजान्छौं । त्यसको लागि विधानका धारा निलम्बन गरेर हुन्छ या अरु कही गरेर हुन्छ, कसैलाई पनि बाहिर राख्दैनौं । सबै कांग्रेसको छहारीमुनि बस्ने हो । ’

पार्टीभित्रको गुट–उपगुट अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्नेमा पनि भुसालले जोड दिइन् । विगतका संसदीय तथा स्थानीय तहका निर्वाचनमा आन्तरिक गुटबन्दीको असर परेको उल्लेख गर्दै उनले आगामी महाधिवेशनबाट त्यसलाई अन्त्य गर्नुपर्ने बताइन् ।

‘अहिलेको माग र आवश्यकताअनुसार सबै नेताले परिवर्तनलाई स्वीकार गर्दै महाधिवेशनमा सहभागी हुनुपर्छ,’ उनले भनिन्, ‘पार्टी, संविधान र लोकतन्त्रलाई बलियो बनाउन सबै एकजुट हुनुको विकल्प छैन ।’

अधिकांश वडामा सहमतिबाट नेतृत्व चयन भएकाले वडा अधिवेशनले पार्टीपंक्ति र कार्यकर्तामा उत्साह जगाएको उनले बताइन् । यही उत्साहलाई महाधिवेशनसम्म कायम राख्दै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

महाधिवेशनले कांग्रेसको नेतृत्व संरचनालाई थप बलियो बनाउने उद्देश्यले विधानलाई फराकिलो बनाइएको पनि भुसालले बताइन् । ३५ वर्षमुनिका प्रतिनिधिमध्ये २१ जना केन्द्रीय सदस्य बन्ने व्यवस्था रहेकाले आगामी नेतृत्वमा युवाको सहभागिता बलियो हुने उनको भनाई छ ।