काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ ।
सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुने अभियानमार्फत उबरले नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । उबरले अन्तर्राष्ट्रिय सीएसआर फन्डमार्फत उक्त रकम उपलब्ध गराउने जनाएको छ ।
उबरका अनुसार सहयोग रकम आपतकालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापनाका विभिन्न काममा प्रयोग गरिनेछ ।
अभियान अवधिमा उबरमार्फत सम्पन्न हुने प्रत्येक बाइक राइडबापत १० रुपैयाँ र प्रत्येक क्याब राइडबापत २० रुपैयाँका दरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उबरले आफ्नै तर्फबाट थप योगदान गर्नेछ । यो रकम यात्रु वा चालकबाट कट्टा गरिने छैन । यात्रुले नियमित भाडा नै तिर्नुपर्नेछ भने चालकले पनि साविककै रकम प्राप्त गर्ने उबरले स्पष्ट पारेको छ ।
नेपालका लागि उबरको रणनीतिक साझेदार ट्याक्सीमाण्डुका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले विपद्को समयमा यात्रु र चालकको सहभागिताले राहत अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।
उबरका अन्तर्राष्ट्रिय बजार प्रमुख (भारत तथा दक्षिण एसिया) आकांक्षा सिंहले समुदायप्रतिको जिम्मेवारी मोबिलिटी सेवा उपलब्ध गराउने काममा मात्र सीमित नरहेको बताइन् ।
उबरले अभियान अवधिभर यात्रुलाई नियमित रूपमा राइड बुक गर्न तथा चालकलाई अनलाइन भएर राइड स्वीकार गरी यात्रा पूरा गर्न आग्रह गरेको छ । ‘जति धेरै राइड, त्यति धेरै सहयोग’ भन्ने अवधारणासहित दैनिक यात्रालाई बाढी प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणसँग जोड्ने उद्देश्य अभियानको रहेको उबरले जनाएको छ ।








