६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश
अ+ अ-

काठमाडौं। भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको प्रारम्भिक आर्थिक क्षति भएको प्रतिवेदन पेश गरिएको छ ।

क्षतिग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थान तथा भविष्यमा हुने विपद्का लागि पूर्वतयारीलाई व्यवस्थित बनाउन पुनर्रुत्थानको मस्यौदा तयार गर्ने जिम्मेवारीसमेत सम्बन्धित समितिलाई दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित पर्यटन क्षेत्रमा परेको प्रभाव तथा पुनरुत्थानसम्बन्धी प्रतिवेदन प्रस्तुति तथा छलफल कार्यक्रममा नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली (क्यूआरटी) का संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमलाले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गनेस’को उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द निरौला, सहसचिव तथा शाखा प्रमुखहरू, नेपाल पर्यटन बोर्डका प्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रतिवेदनअनुसार बाढी तथा पहिरोबाट विशेषगरी रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ ।

क्षेत्रगत रूपमा सबैभन्दा बढी क्षति होटल व्यवसायमा भएको प्रारम्भिक आकलन गरिएको छ । होटल क्षेत्रमा रु १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार, वैदेशिक पर्यटन आम्दानीमा रु १४ अर्ब ६० करोड २४ लाख ६४ हजार तथा मानवबल एवं पर्यटक व्यवस्थापनमा रु १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५०० बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, सम्पदा तथा पर्यटन पूर्वाधारतर्फ रु १ अर्ब ६६ करोड ४० लाख, सवारीसाधनतर्फ रु १ अर्ब ५१ करोड ४० लाख ८० हजार, रेस्टुरेन्टतर्फ रु १ अर्ब ३८ करोड ५० लाख २० हजार र लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ रु १ अर्ब २७ करोड ६४ लाख ४० हजार बराबरको क्षति भएको आकलन गरिएको छ ।

आन्तरिक पर्यटन राजस्वमा रु १९ करोड ८७ लाख, राफ्टिङ तथा क्याम्पिङ साइटमा रु १५ करोड ५० लाख र ट्रेकिङ ट्रेलमा रु ५ करोड बराबरको प्रारम्भिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

बाढी तथा पहिरोमा १ हजार ११७ जना नेपाली तथा विदेशी नागरिक प्रभावित तथा सम्पर्कविहीन भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ३१० जनाको सकुशल उद्धार गरिएको छ भने १३ जना सम्पर्कमा आएका छन् । हालसम्म ७९४ जना सम्पर्कविहीन रहेकोमा ६०६ जना विदेशी र १८८ जना नेपाली रहेको जनाइएको छ । उद्धार गरिएकामध्ये २५८ पुरुष र ५२ महिला छन् ।

घटना भएको करिब एक घण्टाभित्रै पर्यटक प्रहरी, ट्राभल तथा ट्रेकिङ कम्पनी र कैलाश–मानसरोवर टुर अपरेटरहरूसँग समन्वय गरी खोज तथा उद्धार कार्य सुरु गरिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी गराएका हुन् ।

प्रतिवेदनमा विपद्पछिको पर्यटन पुनरुत्थानलाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा मात्र सीमित नगरी भविष्यमा देखिन सक्ने जलवायुजन्य जोखिमलाई समेत ध्यानमा राखेर सुरक्षित तथा दिगो पर्यटन प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

बोर्डका वरिष्ठ निर्देशक ऐरले रसुवा क्षेत्रलाई दीर्घकालीन रूपमा ‘क्लाइमेट हेरिटेज’ का रूपमा विकास गर्ने अवधारणा अघि सारिएको जानकारी दिए ।

उनले संकटका समयमा प्रभावकारी समन्वय र शीघ्र प्रतिकार्यका लागि बोर्डमा २४ सै घण्टा सञ्चालन हुने क्राइसिस सेल तथा क्यूआरटीलाई निरन्तरता दिनुपर्ने र त्यसका लागि वार्षिक रु १ देखि ५ करोडसम्म बजेट व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य तथा निजी क्षेत्रका प्रतिनिधि सहदेव धमलाले बाढी-पहिरोबाट पर्यटन व्यवसाय, होटल तथा पदमार्गमा ठूलो क्षति पुगेको उल्लेख गर्दै प्रभावित व्यवसायीका लागि तत्काल राहत, कर छुट तथा सहुलियतपूर्ण पुनरुत्थान प्याकेज आवश्यक रहेको बताए ।

उनले वैकल्पिक पदमार्ग तथा यातायात पहुँच शीघ्र सञ्चालनमा ल्याउनुका साथै अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल सुरक्षित र पर्यटकका लागि खुला रहेको सन्देश प्रभावकारी रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिए । छलफलका क्रममा भोटेकोशी बाढीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि आवश्यक कार्ययोजना अघि बढाउने विषयमा छलफल भएको थियो ।

साथै, आगामी विपद्का समयमा प्रभावकारी समन्वय, शीघ्र प्रतिकार्य तथा पर्यटन क्षेत्रको पुनरुत्थान प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुनर्रुत्थानको योजना मस्यौदा तयार गर्ने थप जिम्मेवारी सम्बन्धित समितिलाई मन्त्री पौडेलले दिएका छन् ।

मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको शीघ्र उद्धार तथा क्षतिग्रस्त पर्यटन पूर्वाधारको पुनर्निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको बताए । उनले नेपाल पर्यटन बोर्ड तथा निजी क्षेत्रसँगको सहकार्यमा तयार हुने संयुक्त कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आगामी पर्यटकीय सिजनअघि प्रमुख गन्तव्यमा सुरक्षा, सञ्चार तथा यातायात पहुँच पुनःस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रारम्भिक प्रतिवेदनले पर्यटन क्षेत्रमा प्रमाणमा आधारित तथा एकीकृत सूचना प्रवाह, जलवायु–अनुकूल पर्यटन पूर्वाधार, पूर्वसूचना प्रणाली, पर्यटक प्रहरीको विस्तार तथा पर्यटन बीमा प्रणालीको संस्थागत विकास गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

त्यसैगरी, प्रभावित क्षेत्रको पर्यटन पुनरुत्थानसँगै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई निरन्तरता दिन भारतका दुई शहरमा प्रेस ब्रिफिङ तथा ‘नेपाल नाइट’ कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारिएको छ ।

नेपाल पर्यटन बोर्डले सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा निजी क्षेत्रसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै पर्यटक सुरक्षा, विश्वसनीय सूचना प्रवाह र पर्यटन क्षेत्रको दिगो पुनरुत्थानलाई प्राथमिकतामा राख्ने जनाएको छ ।