५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र
अ+ अ-

धनकुटा। धनकुटाको पाख्रीबासमा निर्माणाधीन औद्योगिक ग्राम आवश्यक बजेट अभावका कारण अलपत्र परेको छ।

आवश्यक पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट उपलब्ध हुन नसक्दा औद्योगिक ग्राम निर्माणको काम अघि बढ्न नसकेको हो। औद्योगिक ग्राम निर्माणका लागि करिब रु ५४ करोडको लागत अनुमानसहित काम सुरु गरिएको थियो। हालसम्म रु एक करोड ४० लाखभन्दा बढी खर्च भइसकेको छ।

पहिलो चरणमा रु एक करोड २५ लाखमा ठेक्का लागेर निर्माण  सुरु गरिएको थियो। आर्थिक वर्ष २०७७/७८ मा विनियोजित रु एक करोड बजेटबाट धनकुटाको निर्माण कम्पनीले जिम्मा पाएको थियो।

हालसम्म एउटा हलसहित चार कोठा भएको दुईतले भवन निर्माण गरिएको छ। भवन निर्माणको काम सम्पन्न भए पनि अन्य आवश्यक संरचना निर्माणका लागि बजेट अभाव भएपछि काम रोकिएको हो। भवन वरिपरि अहिले दुबो तथा झारपात पलाएर झाडी बनेको छ। निर्माण भएका संरचनाको संरक्षण हुन नसक्दा समयसँगै जीर्ण हुँदै जाने जोखिम बढेको छ।

संघीय सरकारको ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ नीतिअनुसार उद्योग मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत औद्योगिक ग्राम निर्माण सुरु गरिएको हो। स्थानीय स्रोत तथा साधन, कच्चापदार्थ, प्रविधि र सीपको परिचालन गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण गरिएको हो। यसबाट स्थानीय अर्थतन्त्रमा योगदान पुग्नुका साथै उत्पादन र उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको थियो।

११७ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको औद्योगिक ग्राम निर्माणकै चरणमा अलपत्र पर्दा राज्यको लगानी खेर जाने अवस्था देखिएको छ। दोस्रो चरणअन्तर्गत निर्माण कम्पनीले रु ३९ लाख ६८ हजार १५३ (भ्याटसहित) मा ठेक्का लिएर निर्माण कार्यअघि बढाएको थियो। सम्झौताअनुसार २०८१ जेठ १८ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि तोकिएको मितिभन्दा करिब चार महिनापछि मात्र निर्माण सम्पन्न भएको थियो।

निर्माण सम्पन्न भएको करिब दुई वर्ष बितिसक्दासमेत औद्योगिक ग्राम सञ्चालनमा आउन नसकेको स्थानीय बाबुराम भण्डारीले बताए। ‘राज्यको लगानी यसरी खेर जानु दुःखद हो। निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउन सके स्थानीयस्तरमा उपलब्ध कच्चापदार्थ र प्रविधिको सदुपयोग हुनुका साथै स्थानीयले रोजगारीसमेत पाउने थिए’, भण्डारीले भने।

औद्योगिक ग्राम सञ्चालनमा आएमा स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ। बेरोजगार युवा तथा युवतीलाई रोजगारी दिने उद्देश्यले संघीय सरकारले नीति बनाएर हरेक स्थानीय तहमा औद्योगिक ग्राम निर्माणको अवधारणा अघि सारेको थियो। कतिपय स्थानमा संरचना निर्माण भए पनि प्रयोगमा आउन सकेको छैन।

सरकारले ठूलो रकम खर्च गरेर संरचना निर्माण गर्नुका साथै त्यसलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन आवश्यक पहल गर्नुपर्ने पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले बताए। उनले संघीय सरकारले सञ्चालनको नीति नबनाउँदा सञ्चालनमा समस्या भएको बताए। रासस