काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा वैकल्पिक सडक निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ। त्रिशूली नदीमा आएको बाढीका कारण भदौ १४ गते कृष्णभीरमा ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको राजमार्ग असोज १ गतेदेखि सञ्चालनमा आएको हो।
पहिरोका कारण करिब १८ दिन सडक अवरुद्ध हुँदा काठमाडौंलगायत देशका विभिन्न भागबाट आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका थिए। मुख्य सडक नै क्षतिग्रस्त भएपछि सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको थियो। सडक अवरुद्ध भएलगत्तै सडक विभागले कृष्णभीरमा वैकल्पिक सडक निर्माण तथा सडक कटानको काम अघि बढाएको थियो।
नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीका अनुसार पहिरो खसेपछि तत्काल वैकल्पिक मार्गको खोजी गरिएको थियो। सुरुमा केही कठिनाइ भए पनि पहिरो गएको दोस्रो दिनमै वैकल्पिक सडक निर्माणका लागि मार्ग पहिचान गरिएको उनले बताइन्। पहिरोको माथिल्लो भागमा तुलनात्मक रूपमा समथर भूभाग भेटिएपछि त्यही क्षेत्रबाट सडक निकाल्ने योजना बनाएर काम सुरु गरिएको उनको भनाइ छ।
अधिकारीका अनुसार सडक निर्माण सुरु गर्दाको अवस्था अत्यन्त जोखिमपूर्ण थियो। पहिरोको जोखिमका कारण एक्साभेटर सञ्चालन गर्न अपरेटरहरू समेत डराएको उनले बताइन्। जोखिम न्यूनीकरणका लागि प्रत्येक मेसिनमा अपरेटरसँगै हेल्पर राखिएको र फ्ल्यागमार्फत निरन्तर निगरानी गरिएको उनले जानकारी दिइन्। दुवैतर्फबाट मेसिन सञ्चालन गरेर ट्र्याक खोल्ने काम अघि बढाइएको थियो।
सडक निर्माणका क्रममा पहिरोको जोखिमलाई ध्यानमा राख्दै सामान्यभन्दा माथिल्लो भागबाट ट्र्याक खोल्दै क्रमशः सडकको ग्रेड मिलाइएको अधिकारीले बताइन्। दुईतर्फबाट मेसिन सञ्चालन गर्दा पहिलो दिनमै एकअर्कालाई भेट्ने अवस्था बनेको र दोस्रो दिन लञ्च ब्रेकअघि नै दुवै मेसिनको बुम एकअर्कासँग भेटिएको उनले जानकारी दिइन्।
हाल कृष्णभीरबाट ठूला मालवाहकसहित अन्य सवारीसाधन सहज रूपमा सञ्चालन भइरहेको अधिकारीले बताइन्। रातिको समयमा समेत सवारी आवागमन सहज बनाउन सडकमा बत्तीको व्यवस्था गरिएको छ। वैकल्पिक सडक सञ्चालनमा आएपछि काठमाडौं जाने तथा काठमाडौं हुँदै देशका विभिन्न भागतर्फ जाने सवारीसाधनलाई सहज भएको छ।
तर कृष्णभीरमा तत्कालका लागि सडक सञ्चालनमा आए पनि दीर्घकालीन रूपमा भने भू–स्थायित्वबारे अध्ययन गर्नुपर्ने अधिकारीले बताइन्। सक्रिय अवस्थामा रहेको पहिरोको ‘टो’ काटेर सडक सञ्चालनमा ल्याइएको भन्दै उनले माथिल्लो भागको पहिरो स्थिर भएको हो वा अझै जोखिम कायम छ भन्ने विषयमा थप प्राविधिक अध्ययन आवश्यक रहेको बताइन्।
नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले पनि कृष्णभीरमा अत्यन्त जोखिम मोलेर सडक निर्माण गरिएको बताए। पुरानो सडक पहिरोले पूर्ण रूपमा बगाइसकेको र बाँकी रहेको भूभागसमेत चिराचिरा परेको अवस्थामा काम अघि बढाइएको उनले बताए।
उनका अनुसार सडक निर्माणका क्रममा सडक विभागका अधिकारी, आयोजना प्रमुख, परामर्शदाता, जियोटेक विज्ञ, इन्जिनियर तथा निर्माण कम्पनीका प्राविधिक र मजदुर फिल्डमै बसेर काम गरेका थिए। काठमाडौंमा ग्यास बुलेट, पेट्रोलियम पदार्थ तथा ठूला मालवाहक सवारीसाधन सञ्चालनका लागि कृष्णभीरमा सडक खोल्नु आवश्यक भएकाले जोखिमका बाबजुद काम अघि बढाइएको उनले बताए।
खड्काका अनुसार निर्माण टोली करिब १५ दिन फिल्डमै बसेर काममा खटिएको थियो। काम सुरु गरेको ११ दिनमै वैकल्पिक सडक निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको उनले बताए। ‘ज्यानको बाजी राखेर’ काम गर्नुपर्ने अवस्था भए पनि राजमार्ग सञ्चालन गर्नुको विकल्प नभएको उनको भनाइ छ।
खड्काले सरकारले निर्माणका लागि आवश्यक वातावरण सिर्जना गरिदिए अन्य स्थानमा पनि निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न सक्ने बताए। नेपालमा पूर्वाधार निर्माण ढिलो हुनुमा निर्माण व्यवसायीलाई मात्र दोष दिन नहुने उनको भनाइ छ।
आयोजना सुरु हुनुअघि नै मुआब्जा वितरण, विद्युत्का पोल हटाउने, वन तथा रुख कटान, नदीजन्य निर्माण सामग्रीको उपलब्धता, क्रसर तथा अस्फाल्ट प्लान्टको व्यवस्थापनलगायतका काम सरकारले समयमै गर्नुपर्ने उनले बताए। निर्माण व्यवसायीलाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने, सुरक्षाको प्रत्याभूति गर्ने र समयमा भुक्तानी गर्ने व्यवस्था भए पूर्वाधार निर्माणले गति लिने उनको भनाइ छ।
निर्माण क्षेत्रलाई देशको पूर्वाधार विकासको महत्वपूर्ण क्षेत्रका रूपमा लिएर सरकारले निर्माण व्यवसायीसँग समन्वय बढाउनुपर्ने खड्काले बताए। पूर्वाधार विकासका लागि राज्यले निर्माण व्यवसायीलाई आवश्यक सहजीकरण गर्ने हो भने निर्धारित समयमा आयोजना सम्पन्न गर्न सहज हुने उनको भनाइ छ।








