बागमती। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको कार्यान्वयनमा क्रियाशील शक्तिहरूले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकको संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।
सन्देशमा उहाँले देशको सर्वोच्च कानुन संविधान भएकाले यसको परिपालना सबैको कर्तव्य भएको तथा यसको मर्मअनुरूपको लोकतान्त्रिक कल्याणकारी राज्यको अनुभूति जनतामा दिलाउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । रासस








