२ आश्विन २०८३, शुक्रबार
,
Latest
आईभीएफ र सरोगेसी नियमन गर्न चालु आवमै विधेयक ल्याउने सरकारको प्रतिबद्धता जेन–जी सांसदहरुसँग प्रधानमन्त्री साहले भने– संसदमा जेन–जी सांसदहरूको गतिविधि र नयाँ विचारमा म चासो राख्छु मन्त्री परिषदद्वारा भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत सिफारिस प्रधानमन्त्री शाहको आह्वानमा मन्त्रिपरिषद् बैठक जारी जेन्जी पुस्ताका सांसदलाई प्रधानमन्त्रीको आग्रह : ‘स्वदेशमै रोजगारी सिर्जना गर्न उदाहरण बन्नुस्’ एन्फा कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे सीआईबीको नियन्त्रणमा बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै माधव नेपालको चिन्ता–‘नेपाल कतै विदेशीहरुको खेलमैदान पो बन्ने हो कि’ दशैँ–तिहारलगत्तै सरकारको प्रतिक्रान्तीकारी षड्यन्त्रका विरुद्ध सडकमा उत्रिन्छौँः दाहाल मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् आएपछि उद्धार गर्ने होइन, अघिबाटै तयारी गर्नुपर्छ : कमला पन्त



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलकी नेता कमला पन्तले विपद् आएपछि उद्धार गर्ने परम्पराको अन्त्य गर्दै विपद् आउनुअघि नै आवश्यक तयारी र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै पन्तले नागरिकको सुरक्षा राज्यको प्रमुख जिम्मेवारी भएको बताउनुभयो । उहाँले जहाँ नागरिक सुरक्षित हुन्छन्, त्यहाँको सरकार नागरिकप्रति संवेदनशील, जिम्मेवार र उत्तरदायी रहेको बुझ्न सकिने उल्लेख गर्नुभयो ।

संसद्ले पटक–पटक विपद् आउनुअघि नै आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराउँदै आए पनि राज्यले त्यसलाई पर्याप्त रूपमा कार्यान्वयन नगरेको उहाँको भनाइ थियो । विपद् व्यवस्थापनका क्षेत्रमा विज्ञहरूले दिएका सुझाव तथा अध्ययनलाई सरकारले व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पन्तले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै जल तथा मौसम विज्ञान विभागको प्राविधिक तथा संस्थागत क्षमता थप वृद्धि गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । विभागले नदी, मौसम, जलविज्ञान तथा पूर्वसूचना प्रणालीसम्बन्धी जिम्मेवारी निर्वाह गर्दै आएको भन्दै उहाँले त्यसलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

पूर्वसूचना प्रणालीलाई केन्द्र वा जिल्ला तहमा मात्र सीमित नराखी स्थानीय तह हुँदै जनताको घरदैलोसम्म पुर्‍याउनुपर्ने उहाँको भनाइ थियो । सबै नागरिकसँग मोबाइल वा स्मार्टफोनको पहुँच नरहेको उल्लेख गर्दै पन्तले विपद्सम्बन्धी सूचना प्रवाहमा रेडियोलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

ग्रामीण क्षेत्रमा अझै पनि रेडियो सूचना प्राप्त गर्ने महत्वपूर्ण माध्यम रहेको बताउँदै उहाँले किसान र विपद्को जोखिममा रहेका समुदायले समयमै सूचना पाउने गरी पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने बताउनुभयो ।

पन्तले भन्नुभयो, “नेपालमा विपद् आएपछि उद्धार गर्ने होइन, विपद् आउनुअघि नै तयारी गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।” उहाँले किसान तथा आम नागरिकको वास्तविक आवश्यकता बुझेर विपद् पूर्वसूचना प्रणाली निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले विपद्को जोखिममा रहेका समुदाय, विशेषगरी किसानसम्म समयमै पूर्वसूचना पुर्‍याउने प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।