१ आश्विन २०८३, बिहीबार
,
Latest
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का



अ+ अ-

काठमाडौं । हिमनदी विज्ञ नितेश खड्काले हिन्दुकुश–हिमालय तथा तिब्बती पठार क्षेत्रमा विश्वव्यापी औसतको तुलनामा करिब दोब्बर दरले तापक्रम वृद्धि भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै खड्काले हिमाली क्षेत्रमा प्रतिवर्ष करिब ०.४२ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको बताउनुभयो । उहाँका अनुसार सन् १९८० देखि २०१८ सम्मका अध्ययनहरूले पनि हिमालय क्षेत्रमा तीव्र गतिमा तापक्रम वृद्धि भइरहेको देखाएका छन् ।

नेपालको औसत तापक्रमसमेत प्रतिवर्ष करिब ०.०४ डिग्री सेल्सियसले वृद्धि भइरहेको उहाँले बताउनुभयो । तापक्रम वृद्धिको प्रत्यक्ष असर हिमनदी र हिमतालमा देखिन थालेको उहाँको भनाइ छ ।

खड्काका अनुसार तापक्रम वृद्धिका कारण हिमनदीहरू क्रमशः संकुचित र पग्लिँदै गएका छन् भने अर्कोतर्फ नयाँ हिमताल बन्ने तथा विद्यमान हिमतालको क्षेत्रफल बढ्ने क्रम देखिएको छ ।

उहाँले सगरमाथा क्षेत्रमा रहेको इम्जा हिमतालको उदाहरण दिँदै सन् १९५० आसपाससम्म उक्त क्षेत्रमा ठूलो हिमताल नरहेको बताउनुभयो । तापक्रम बढ्दै जाँदा साना–साना पोखरी बन्न थालेको र ती पोखरी क्रमशः जोडिँदै ठूलो हिमतालमा परिणत भएको उहाँले उल्लेख गर्नुभयो ।

‘हिमाली क्षेत्र र तिब्बती पठारमा विश्वव्यापी औसत तापक्रम वृद्धिको तुलनामा करिब दुई गुणाले तापक्रम बढिरहेको अध्ययनहरूले देखाएका छन्,’ उहाँले भन्नुभयो, ‘त्यो वृद्धि प्रतिवर्ष करिब ०.४२ डिग्री सेल्सियस रहेको अध्ययनहरूले देखाएका छन् ।’

खड्काले हिमनदी स्थिरजस्तो देखिए पनि भित्रभित्रै निरन्तर गतिशील हुने बताउनुभयो । हिमनदीको गति जलवायु परिवर्तनको प्रभाव तथा यसको स्वास्थ्य अवस्था बुझ्ने महत्वपूर्ण सूचक भएको उहाँको भनाइ छ ।

हिमनदीमा परेको असरले नेपालको नदी प्रणालीमा समेत प्रत्यक्ष प्रभाव पार्ने उहाँले बताउनुभयो । हिमनदीको माथिल्लो भागबाट बरफ निरन्तर तलतर्फ बग्ने र त्यस क्रममा चट्टान तथा बरफबीचको घर्षणलगायत प्रक्रियाबाट हिउँ पग्लिएर नदी प्रणालीमा पानी पुग्ने उहाँले स्पष्ट पार्नुभयो ।

खड्काले जलवायु परिवर्तनका कारण नेपालमा चरम मौसमी तथा जलवायुजन्य घटनाको जोखिमसमेत बढिरहेको बताउनुभयो । उहाँले चट्याङका घटनामा समेत वृद्धि देखिएको उल्लेख गर्दै करिब २० प्रतिशत वृद्धि भएको दाबी गर्नुभयो ।

नेपालले हिमनदी तथा हिमतालमा भइरहेको परिवर्तनसँगै चरम मौसमी घटनाबाट उत्पन्न जोखिमलाई समग्र रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । जलवायु परिवर्तन तथा विपद्का घटनाबाट समाजका कमजोर वर्ग सबैभन्दा बढी प्रभावित हुने भएकाले जोखिम न्यूनीकरणका उपायमा उनीहरूलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।