३१ भाद्र २०८३, बुधबार
,
Latest
दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ गते हुने वडा अधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै हुने भएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले सामाजिक सञ्जालमा अधिवेशन सर्ने भन्दै भइरहेको प्रचारमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभयो । उहाँले संवैधानिक व्यवस्था, सर्वोच्च अदालतको फैसला र निर्वाचन कार्यतालिकाअनुसार वडा अधिवेशन तोकिएकै मितिमा हुने बताउनुभयो ।

संयोजक खड्काका अनुसार ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको छ । निर्वाचन अधिकृतहरू सम्बन्धित जिल्लामा पुगेर जिल्ला सभापति तथा स्थानीय पार्टी नेतृत्वसँग समन्वय गरिरहेका छन् । प्रत्येक वडामा मतदान अधिकृतसमेत परिचालन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले कांग्रेसको महाधिवेशनलाई पार्टीको आन्तरिक निर्वाचनका रूपमा मात्रै नभई संवैधानिक सर्वोच्चता र विधिको शासनसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । सर्वोच्च अदालतको फैसलाविपरीत कांग्रेस अघि नबढ्ने भन्दै उहाँले निर्धारित कार्यतालिकाअनुसार असोज ३ गते वडा अधिवेशन सम्पन्न हुने स्पष्ट पार्नुभयो ।

बाढी तथा विपद्बाट प्रभावित केही जिल्लामा अधिवेशन सञ्चालनमा समस्या देखिए पनि स्थलगत जानकारी र निर्वाचन अधिकृतहरूको रिपोर्टका आधारमा अधिकांश क्षेत्रमा निर्वाचन सञ्चालन गर्न सकिने अवस्था रहेको उहाँले बताउनुभयो । विशेषगरी धादिङ र नुवाकोटका केही क्षेत्रमा समस्या रहेको भन्दै ती क्षेत्रको अवस्थाबारे स्थलगत अध्ययन र सम्बन्धित प्रतिनिधिसँग छलफल भइरहेको उहाँको भनाइ छ ।

धादिङको एक क्षेत्रमा एउटै परिवारका ठूलो संख्यामा सदस्यको मृत्यु भएको जानकारी प्राप्त भए पनि अन्य क्षेत्रमा अधिवेशन सञ्चालन गर्न सकिने रिपोर्ट आएको संयोजक खड्काले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला र प्रदेश अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि गर्ने गरी यसअघि नै कार्यतालिका तय भइसकेको छ । वडा, क्षेत्र र प्रदेश तहबाट महाधिवेशनका लागि आवश्यक मतदाता तयार भएपछि केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढाइनेछ ।

यसैबीच, कांग्रेस केन्द्रीय निर्वाचन समितिले वडा तहको निर्वाचनका लागि करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा परिचालन भइसकेको जनाएको छ । समितिका सदस्यसचिव राजु कटुवालका अनुसार असोज ३ र ४ गते हुने वडा अधिवेशनका लागि आवश्यक तयारी पूरा भएको छ ।

उनका अनुसार ७७ जिल्लामा ७७ जना, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १६५ जना, ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा ३३० जना, ७५३ स्थानीय तहमा ७५३ जना र ६ हजार ७४३ वडामा ६ हजार ७४३ जना निर्वाचन अधिकृत खटाइएको छ । उनीहरूलाई सहयोग गर्न सोही अनुपातमा मतदान अधिकृतसमेत परिचालन हुनेछन् ।

१५औँ महाधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिसहित करिब साढे तीन लाख प्रतिनिधि चयन हुने प्रारम्भिक अनुमान निर्वाचन समितिको छ । वडा तहबाट मात्रै करिब २ लाख ९६ हजार ६९२ जना प्रतिनिधि तथा पदाधिकारी चयन हुने समितिले जनाएको छ ।

यस्तै, महाधिवेशन प्रतिनिधिको संख्या करिब ७ हजार पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । १५० क्रियाशील सदस्यको सिलिङका आधारमा १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ५ हजार ४४५ जना, प्रदेशसभा क्षेत्रका पदेन प्रतिनिधि ३३० जना र पालिका सभापतिबाट ७५३ जना महाधिवेशन प्रतिनिधि आउने प्रारम्भिक हिसाब रहेको कटुवालले जानकारी दिनुभयो । विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट आउने प्रतिनिधि थपिएपछि संख्या अझ बढ्न सक्ने उहाँले बताउनुभयो ।

निर्वाचन समितिले करिब ८ लाख ७० हजार क्रियाशील सदस्यको डिजिटल विवरण प्राप्त गरिसकेको जनाएको छ । रसुवा, नुवाकोट र धादिङलगायत केही जिल्लाको विवरण अन्तिम रूप दिन बाँकी रहेकाले ती जिल्लाको विवरण पछि थपिने कटुवालले बताउनुभयो ।

समितिले क्रियाशील सदस्यको नामावली पीडीएफ फाइलमा तयार गरी सम्बन्धित जिल्लामा पठाउने तयारी गरेको छ । तीन जिल्लाबाहेक ७४ जिल्लामा नामावली पठाउने काम अघि बढिसकेको उहाँले जानकारी दिनुभयो ।

यसपटकको महाधिवेशनलाई केही हदसम्म डिजिटल बनाउने योजना रहेको पनि निर्वाचन समितिले जनाएको छ । निर्वाचन निर्देशिकाको ‘अनुसूची २५’ मा वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिको संख्या र विभिन्न समुदायको प्रतिनिधित्वसम्बन्धी व्यवस्था तालिकामार्फत स्पष्ट पारिएको कटुवालले बताउनुभयो ।

महाधिवेशनलाई महिलामैत्री बनाउने उद्देश्यले निर्वाचन अधिकृतको भूमिकामा महिला कानुन व्यवसायीको सहभागिता पनि बढाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका १५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १८ जना महिला कानुन व्यवसायी निर्वाचन अधिकृतका रूपमा खटिएका छन् । अर्घाखाँचीमा अञ्जु रेग्मी निर्वाचन अधिकृतका रूपमा खटिनुभएको छ ।

यससँगै १९ जना महिला कानुन व्यवसायी प्रत्यक्ष रूपमा निर्वाचन अधिकृतको भूमिकामा सक्रिय रहेको कटुवालले जानकारी दिनुभयो । उहाँले असोज ३ र ४ गते हुने वडा तहको निर्वाचन निर्धारित समयमै हुने भन्दै अधिवेशन सर्ने विषयमा कुनै दुविधा नरहेको स्पष्ट पार्नुभयो ।