काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा रहेका होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्ने भएको छ ।
बुधवार बसेको समितिको बैठकले पहिलो चरणमा नुवाकोट, धादिङ र काठमाडौँमा रहेका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको हो । समितिका सभापति ओजश्वी शेरचनका अनुसार असोज ३ र ४ गते अनुगमन गरिनेछ ।
संसदीय परम्परा, अनुगमनको संवेदनशीलता, प्राप्त निर्देशन तथा मितव्ययितालाई ध्यानमा राख्दै तीन जिल्लाका लागि छुट्टाछुट्टै संसदीय अनुगमन टोली गठन गरिएको समितिले जनाएको छ ।
नुवाकोटका होल्डिङ सेन्टर अनुगमनका लागि सभापति शेरचनसहित अच्युतम लामिछाने, भीमकुमारी बुढामगर, राजन गौतम, राधिका रम्तेल र रिङ्गला यादव सदस्य रहेको टोली गठन गरिएको छ ।
त्यस्तै, धादिङका होल्डिङ सेन्टर अनुगमनका लागि सीता थपलिया, कुसुम महर्जन र झविलाल डुम्रे सदस्य रहेको टोली रहनेछ । काठमाडौँमा रहेका होल्डिङ सेन्टरको अनुगमनका लागि भने समिति परामर्श तथा समन्वय उपसमितिको परामर्शमा सभापतिले उपयुक्त मिति र सहभागी सदस्यको संख्या निर्धारण गर्ने निर्णय भएको छ ।
सभापति शेरचनले अनुगमनका क्रममा कमभन्दा कम सदस्य सहभागी गराई प्रभावकारी अनुगमन गर्ने नीति समितिले लिएको बताउनुभयो । उहाँका अनुसार समितिले अनुगमनको दोस्रो चरणसमेत सञ्चालन गर्ने प्रस्ताव गरेको छ । दोस्रो चरणको अनुगमन सदन नचलेको समयमा असोज ८ देखि १२ गतेसम्म गर्ने प्रस्ताव गरिएको छ ।
समितिले आगामी दिनमा अन्य जिल्लामा समेत विभिन्न विषयमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ । हालको अनुगमनमा सहभागी नभएका सदस्यलाई आगामी अनुगमनमा प्राथमिकता दिने तथा सम्भव भएसम्म एउटै सदस्यलाई दोहोर्याएर एउटै अनुगमन टोलीमा नराख्ने नीति समितिले लिएको सभापति शेरचनले जानकारी दिनुभयो ।









