काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनुभएको छ ।
बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो ।
रास्वपा प्रवक्ता जगदिश खरेलका अनुसार बाढीपछि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सर्वदलीय विशेष समिति वा उच्चस्तरीय संयन्त्र गठन गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकमा बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्रभावकारी बनाउने, पुनर्स्थापनाका कामलाई समन्वय गर्ने तथा त्यसका लागि आवश्यक संयन्त्र निर्माण गर्ने विषयमा छलफल हुने बताइएको छ ।
सर्वदलीय संयन्त्रको स्वरूप कस्तो हुने, त्यसको नेतृत्व कसले गर्ने र कार्यक्षेत्र के हुने भन्ने विषय बैठकबाट टुंगो लगाउने तयारी छ ।









