काठमाडौँ, ३० भदौः भोटेकोशी रसुवा बाढीसँगै जलवायु न्यायको विषय टड्कारो उठिरहेका सांगीतिक क्षेत्रमा जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक सांगीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ सार्वजनिक भएको छ ।
कार्बन उत्सर्जनमा योगदान नगण्य भएपनि जलवायु संकटका कारण बढ्दो विपद्को सबैभन्दा गहिरो चोट भने नेपालका हिमाली र नदीकिनारका समुदायले व्यहोरिरहेका सार्वजनिक भएको यो गीतले जलवायु न्यायका लागि विश्वको ध्यान आकर्षित गरेको छ । तथ्यले मानिसलाई जानकारी दिन्छ, कथाले भावनालाई जोड्छ र संगीतले अनुभूतिलाई स्मृतिमा राख्छ ।
यही कारण जलवायु तथा विपद् सञ्चारमा कला र संगीतको भुमिका महत्वपूर्ण हुन्छ । यो श्रृजना केबल पीडा व्यक्त गर्नुमा मात्रै सिमित छैन यसले प्रश्न गरेको छ । जुन प्रश्नलाई नेपाल सरकारले विश्वजगतमा पुर्याउन जरुरी छ । गीतकार डीडी पन्तले गीतमा बिम्ब र प्रतिकलाई निकै कलात्मक र सचेत ढंगमा प्रश्तुत गरेका छन् ।
‘कसले आकाश बिगार्यो ? ,कसले ऋतुको लय भत्कायोरु,कसले तिम्रा मौनतामा,नाफाको व्यापार गरायो ?’
जलवायु परिवर्तनलाई लामो समयसम्म वैज्ञानिक, प्राविधिक वा वातावरणीय विषयका रूपमा प्रश्तुत गरियो । हिमाली क्षेत्रको अस्थिरता, विपद् जोखिम, नदी किनारको अव्यवस्थित विकास र वातावरणीय संवेदनशीलता माथि उठिरहेका प्रश्नहरु अब केवल बैज्ञानिक वा औपचारिक प्रतिवेदनका विषय बनाइयो । गीतकार पन्तले जलवायु संकटको प्रश्न घर, खेत, सडक, बजार र परिवारको जीवनसँग जोडेर त्यही भित्रबाट न्यायको प्रश्न उठाएका छन् । भोटेकोशीजस्ता विपत्तिले अझ ठूलो प्रश्न उठाउँछन्—प्राकृतिक जोखिम बढ्दै जाँदा हाम्रो विकासको ढाँचा कति सुरक्षित छ ? गीतले विकास माथि पनि प्रश्न गरेको छ ।
‘पहरो फोडी सुरुङ खन्यौँ हामीले
भाग्य फोडी भ्वाङ बनायौ तिमीले । ’
‘सुरुङ’ विकासको प्रतीक अनि मानविय प्रयत्न र स्वाभिमानको बिम्ब हो । ऊर्जा, सडक, पूर्वाधार र समृद्धि खोज्दै पहाडभित्रसम्म पुगेको त्यही ‘विकास’ प्रकृतिमाथि मानवीय हस्तक्षेपको प्रतीक हो । गीतले विकासको विरोध गरेको छैन तर शैलीमा कडा प्रश्न गर्छ । हामीले नदीबाट ऊर्जा निकाल्दा नदीको स्वभाव कति बुझ्यौँ ? पहाड काट्दा त्यसको भूगर्भीय संवेदनशीलता कति बुझ्यौँ ? नदीकिनारमा संरचना बनाउँदा भविष्यको जोखिम कति आँकलन ग¥यौँ ? विपद् आउनुअघि समुदायलाई जोगाउन हामी कति तयार थियौँ ?
कति घर भत्किए, कति पुल बगे वा कति मानिस मरे भन्नेमा क्षतिको मूल्य सीमित हुँदैन । कसले क्षति व्यहो¥यो, किन व्यहो¥यो र पुनःस्थापनाको क्षमता य संग छ कि छैन ? जलवायु न्यायको बहसमा यो विषय महत्वपूर्ण हुन्छ । जलवायु परिवर्तनका प्रतिवेदनले तापक्रम, वर्षा, हिमताल, जोखिम र आर्थिक क्षतिको तथ्यांक प्रश्तुत गर्न सक्छन् । वैज्ञानिक अध्ययनले कारण र प्रभावको व्याख्या गर्न सक्छन् । तर ति अध्ययन मानिसको भावना र स्मृतिसँग जोडिन सक्दैनन् । भावना र स्मृतिलाई जोड्ने शक्ति गीत संगीतमा हुन्छ । ‘ए नदी ए हिमाल’ ले हराएको घर, खोजिएको आफन्त, अधुरो सपना र भविष्यप्रतिको भयलाई गहिरो रुपमा अनुभूत गराउदै जलवायु न्यायको शसक्त आवाज उठाएको छ ।
‘उछिट्याइदियौँ सपनाहरू, पुरिदियौँ आशाहरू, गुमनाम गरायौँ मुटुहरू, फटायौँ उभिने धर्ती पनि ।’
यी पंक्तिले तथ्यांकलाई अनुभूतिमा बदलिदिन्छन् । विपद्लाई केवल ‘प्राकृतिक प्रकोप’ भनेर व्याख्या गर्दा त्यसमा मानवीय जिम्मेवारीका प्रश्नहरू हराउन सक्छन् । अब विपद् जोखिमको बहसले खतरा मात्र होइन, जोखिम निर्माण गर्ने सामाजिक, आर्थिक र विकाससम्बन्धी कारणहरू हेर्नुपर्ने माग गर्छ । त्यसैले ‘ए नदी ए हिमाल’ केवल भोटेकोशीको शोकगीत होइन, यसले जलवायु न्याय, जिम्मेवार विकास र विपद् तयारी रुखो प्रश्न गरेको छ ।
‘कसका लोभ र कसका गल्ती थिए,विनासित्ती निर्धासँग रिसाएर आयौ ?’
मानिसले तथ्यांक बिर्सन सक्छ । प्रतिवेदनका पाना सम्झन गाह्रो हुन सक्छ । तर कुनै गीतसँग जोडिएको धुन, शब्द र भावनाले घटनाको स्मृतिलाई लामो समयसम्म जीवित राख्छ ।
‘भविष्य गयो भेलसँगै, स्मृति रह्यो खोँचतिर बाँचे पनि मरेतुल्य भो, कसरी खै तंग्रिउँला र?’
जलवायु संकटको सबैभन्दा ठूलो प्रश्न पनि शायद यही हो—कम जिम्मेवार समुदायले किन बढी क्षति व्यहोर्नुपर्छ ? विकास कसका लागि र कस्तो जोखिममा भइरहेको छ ? र विपद् भएपछि क्षतिको हिसाव मात्रै गर्ने कि विपद् आउनुअघि नै न्यायपूर्ण र जोखिम–सचेत विकासको बाटो रोज्ने ?
‘ए नदी ए हिमाल’ ले यी प्रश्नको उत्तर दिँदैन । तर संगीतको सफ्ट पावर यही हो—उसले कहिलेकाहीँ उत्तरभन्दा धेरै शक्तिशाली प्रश्न मानिसको मनमा छोडिदिन्छ । गीतले बाढीको शोक मात्र व्यक्त गर्दैन, प्रकृति, विकास र मानवीय जिम्मेवारी माथि प्रश्न पनि गर्छ । प्रविधि, कला र सामूहिक स्मृतिको दस्तावेज यो गीतले व्यक्तिगत शोक र ऐँठनलाई सार्वजनिक बहसमा परिणत गर्दै भविष्यका लागि एउटा सामूहिक स्मृतिको तमसुक गरेको छ । गीत मार्फत पन्तले भोटेकोशीको बाढी पछि प्रकृतिलाई जित्ने होइन, बुझ्नुपर्ने पाठ मानिसले सिक्नुपर्ने र प्रकृतिको दोहन गर्नेहरुले समयमै जिम्मेवारी बोध गर्नुपर्ने चेतावनी पनि दिएका छन् ।
बाढीले घर, सडक, पुल र संरचना मात्रै बगाएन । त्यसले मानिसका वर्षौंका श्रम, परिवारका सपना, जीविकोपार्जनका आधार र भविष्यका योजना समेत बगायो । यही मानवीय क्षतिको बीचमा आएको ‘ए नदी ए हिमाल’ शोकगीत भन्दा बढी— विपत्तिले जन्माएको जलवायु न्यायको सांगीतिक अभिव्यक्ति पनि हो ।
‘हे नदी, हे हिमाल भन योे कस्तो पागलपन देखायौ ? कसको कर्तुत थियो अनि कसको थियो रिस ? अधमरा नेपालीका पोल्टामा किन खन्यायौ ?घाम लागेको बिहान थियो, आकाश पनि त नीलै थियो…’
गीत सुरु हुन्छ यसरी । यी शब्दले विपत्तिअघिको सामान्य जीवनलाई देखाएको छ । मानिसहरू आफ्ना दैनिकीमा थिए । कसैका लागि त्यो काममा जाने दिन थियो, कसैका लागि यात्रा, कसैका लागि परिवारसँग बिताउने सामान्य बिहान । तर केही समयमै विष्मयकारी बाढीले उडाईदियो बस्ती । एकैछिनमा भयावह मानवीय विपत्तिको स्वरुप देखियो । नदी किनारका बस्ती, बजार, सडक, पुल, निर्माणस्थल र मानिसका वर्षौंका श्रम एकैछिनमा माटो, ढुंगा, पानी र भग्नावशेषको कथा बने । भोटेकोशीबाट त्रिशूली हुँदै नारायणीसम्म बगेको विपत्तिले आफ्नो बाटोमा विध्वंशसँगै हजारौँको अकाल मृत्यु र बेपत्ताको कहालीलाग्दो कथा छोडेर गयो । दिन बित्दै जाँदा विपत्तिको आकार झन् भयावह हुँदै गयो । यो केवल नदीलाई गरिएको प्रश्न होइन । यो प्रकृतिलाई बुझ्न नसकेको मानिसको प्रश्न हो । अनि विपत्तिको कारण खोजिरहेको आम समाजको प्रश्न हो । प्राविधिक अर्थमा जलवायु संकट, अनियन्त्रित विकास र मानवीय लोभ इंकित प्रश्न हो ।
‘अचानक तिमी कहाँबाट आयौ, उर्लेर त्यसरी सर्वश्व बगायौ ।’
यी शब्दले समान्य प्राकृतिक घटना नभई त्यसले विपत्तिबाट श्रृजित मानवीय विष्मातलाई दर्शाउँछ । आकाश सामान्य थियो, तर जमिन सामान्य रहेन । बिहान सामान्य थियो, तर केही क्षणपछि जीवन सामान्य रहेन । नदी, जुन वर्षौंदेखि मानिसका लागि बाटो, पानी, ऊर्जा, पर्यटन र जीवनको स्रोत थियो, अचानक मृत्युको अकल्पनीय प्रवाह बन्यो । विषाद र विष्मातको सगम बन्यो । त्यसैले त गीतकारका शब्दसंयोजन विनाशको कथामा मात्रै केन्द्रित छैनन् । तीनले प्रेम, स्नेह, सपना अनि सिगो मानविय क्षतिको विष्मातलाई लिपिबद्ध गरेका छन् ।
गीतको भावनात्मक केन्द्र हो यो । यहीँ आएर सबैका आखाँ रसाउँछन् । निःशब्द अनि सन्नाटा छाउँछ । भोटेकोशी विपत्तिपछि सार्वजनिक भएका मृत्यु र बेपत्ताका तथ्यांकले विपत्तिको भयावह अवस्था देखाउँछ । नदी किनारमा घर मात्रै थिएनन् । कतिका परिपक्व प्रेम थिए । कति प्रेम अंकुरित हुँदै थिए । कति प्रेम फक्रिँदै थिए । धर्म, संस्कृति, परम्परासहितका प्रेमिल स्नेहपूर्ण मानिसका जीवन थिए । शिक्षाको मन्दिर थियो । ऋण लिएर बनाएका घर थिए । व्यवसाय थिए । खेती थियो । परिवारको भविष्य थियो । अनि थिए पत्रे चट्टान जस्ता सुन्दर सपनाहरु ।
किशोर किशोरीका प्रेमिल अनुभुतिका जीवन्त कथा थिए । सास धान्न गरेका दैनिक कर्मका वासलात थिए । सिंगो संसार थियो । बाढीले भौतिक संरचना मात्र नष्ट गरेन सामाजिक र आर्थिक सुरक्षाको आधार भत्कायो । नदीले विगत र वर्तमान मात्रै बगाएको थिए प्रेम चुँढियो, अंकुरित नहुदै निमोठियो, फक्रन फुल्न नपाउँदै चिमोटियो अनि सधैका लागि माटोमुनी बिलय भयो । बगरमा आफन्त खोज्दै गरेकाहरुको पीडालाई यी हरफरले सम्बोधन गरेको छ । मुटु भित्रै पुगेको छ ।–‘लाखौँ सपना थिए ती किनारहरूमा टेक्ने लौरा थिए ती खोला बगरमा ।’
पन्तकाअनुसार गीतको स्वर र संगीत एआईमार्फत तयार गरिएको हो । त्यसैले यो गीतमा मानवीय पीडाबाट जन्मिएको सिर्जना र कृत्रिम बुद्धिमत्तामा आधारित संगीत प्रविधिको संयोजन पनि छ ।– न्युज एजेन्सी नेपाल









