३१ भाद्र २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री



अ+ अ-

काठमाडौँ। भोटेकोशी बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–५ का १ सय ६५ परिवारलाई पोखरा महानगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ ।

महानगरपालिकाले ६ वटा ट्रकमार्फत पठाएको राहत सामग्री प्रभावित परिवारलाई वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष माधव अर्यालको रोहबरमा वितरण गरिएको राहत सामग्रीमा प्रतिपरिवार करिव ४० हजार रुपैयाँ बराबरका दैनिक उपभोग्य सामग्री छन् ।

चामल, तेल, लत्ताकपडा, सिरक, डसना तथा चम्चादेखि खाना पकाउने कुकरसम्मका सामग्री प्रभावित परिवारलाई उपलब्ध गराइएको छ ।

पोखरा महानगरपालिकाका नगर प्रहरी नायव निरीक्षक हरि थापाको नेतृत्वमा गएको टोलीले प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री हस्तान्तरण तथा वितरण गरेको हो ।

विपद्को कठिन समयमा ठूलो परिमाणमा व्यवस्थित राहत उपलब्ध गराएको भन्दै उत्तरगया गाउँपालिका अध्यक्ष अर्यालले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पोखरेली जनताप्रति आभार व्यक्त गर्नुभयो ।

बाढीपछि विस्थापित परिवारका लागि नीलकण्ठ माध्यमिक विद्यालयमा होल्डिङ सेन्टरसमेत सञ्चालन गरिएको थियो । तत्काल खाद्यान्न अभाव भएपछि स्थानीयस्तरमै उपलब्ध चामल पकाएर प्रभावितलाई खाना खुवाइएको र त्यसपछि कालिका तथा नौकुण्ड गाउँपालिकाबाट खाद्यान्न सहयोग प्राप्त भएको अध्यक्ष अर्यालले बताउनु भयो ।

अहिले गाउँपालिका राहत तथा पुनःस्थापनाको चरणमा रहेकाले देशभरबाट विभिन्न स्थानीय तह, गैरसरकारी संस्था, राजनीतिक दलका भ्रातृ संगठन तथा व्यक्ति र संस्थाबाट सहयोग प्राप्त भइरहेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी राहत र सहयोगको चरणमा छौँ । यस विपद्मा देशभरिबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, व्यक्ति, पोखरा महानगरपालिका लगायत विभिन्न नगरपालिका तथा स्थानीय तह, राजनीतिक दलका भ्रातृ संगठनलगायतबाट अभूतपूर्व सहयोग प्राप्त भएको छ । उहाँहरूले राहत सामग्री संकलन, हस्तान्तरण र पीडितसमक्ष पुर्याउन महत्वपूर्ण योगदान गर्नुभएको छ । यस विपद्मा हामीले ठूलो मानवीय र भौतिक क्षति व्यहोरेका छौँ। हाम्रा परिवार तथा कार्यालयका सदस्यसहित ५ जनाको मृत्यु भएको छ भने शिक्षक र कर्मचारी गरी १० जनालाई गुमाएका छौँ । दुई सामुदायिक विद्यालय र एउटा संस्थागत विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् । वडा कार्यालय, स्वास्थ्य चौकी तथा पालिकाका कार्यालयहरू समेत बगरमा परिणत भएका छन् । स्वास्थ्य चौकीमा कार्यरत एक जना अनमी अझै बेपत्ता हुनुहुन्छ । पालिकाको एउटा सवारीसाधन र दुईवटा एम्बुलेन्स बगेका छन् । अहिले हामीसँग कुनै पनि सवारीसाधन छैन । दक्ष कर्मचारीको क्षतिले पालिकाको सेवा प्रवाहमा समेत गम्भीर असर परेको छ । पालिकामा करिब ७७४ जना बेपत्ता रहेको विवरण छ भने ११ जनाको पहिचान भएको छ । ६१४ घर पूर्ण रूपमा ध्वस्त भएका छन् र २२ वटा गोठमा क्षति पुगेको छ । करिव २ हजार परिवार प्रभावित भएका छन् । नदी तटीय क्षेत्रका सबै उमेर समूहका नागरिक प्रभावित भएका छन् । रसुवा जिल्लाभित्र रहेका विभिन्न जलविद्युत आयोजनाका बाहिरी संरचनाहरू समेत पूर्ण रूपमा ध्वस्त भएका छन्। यस विपद्ले भौतिक संरचना मात्र होइन, जिल्लाले लामो समय लगाएर निर्माण गर्दै आएको जनशक्ति र विकासको आधारमा समेत गम्भीर क्षति पु¥याएको छ ।’

भोटेकोशी बाढीले भने उत्तरगया गाउँपालिकामा ठूलो जनधनको क्षति पु¥याएको छ । अध्यक्ष अर्यालकाअनुसार बाढीमा ७७४ जना अझै हराइरहेका छन् भने ११ जनाको पहिचान भएको छ ।

६१४ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २२ वटा गोठमा क्षति पुगेको छ । करिव २ हजार परिवार प्रभावित भएका छन् । बाढीले दुईवटा सामुदायिक विद्यालय र एउटा संस्थागत विद्यालय, वडा कार्यालय, सामुदायिक स्वास्थ्य चौकी तथा गाउँपालिकाको कार्यालयमा समेत ठूलो क्षति पु¥याएको छ ।

गाउँपालिकाको एउटा सवारीसाधन र दुईवटा एम्बुलेन्ससमेत बाढीले बगाएको अध्यक्ष अर्यालले बताउनु भयो । बाढीका कारण रसुवाका विभिन्न जलविद्युत आयोजनाका बाहिरी संरचनामा समेत क्षति पुगेको छ ।

विपद्को समयमा उद्धारका लागि आवश्यक पूर्वतयारी र राज्यका निकायबीच पर्याप्त समन्वय हुन नसकेको भन्दै अध्यक्ष अर्यालले आगामी दिनमा यसबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनु भयो ।

अहिले भने प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने, विस्थापितको व्यवस्थापन गर्ने र ध्वस्त संरचनाको पुनःस्थापनातर्फ स्थानीय तहले प्राथमिकता दिएको छ । –न्युज एजेन्सी नेपाल




भर्खरै