३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक प्रकोपबाट प्रभावित तनहुँका किसानलाई राहत



अ+ अ-

तनहुँ। हावाहुरी, असिना पानी तथा विभिन्न रोगका कारण बालीमा क्षति व्यहोरेका तनहुँका किसानलाई कृषि विकास कार्यालयले राहत तथा पुनःस्थापनाका लागि रु आठ लाख ७८ हजार उपलब्ध गराएको छ ।

प्राकृतिक प्रकोप तथा रोगका कारण बालीमा क्षति पुगेका किसानलाई कार्यालयले क्षतिको मूल्याङ्न गरी राहत रकम वितरण गरेको हो ।

कृषि विकास कार्यालयका प्रमुख परशुराम अधिकारीका अनुसार जिल्लाका विभिन्न स्थानका १९३ हेक्टर क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको थियो । लागतका आधारमा गरिएको मूल्याङ्कनअनुसार ती बालीमा रु ३७ लाख १८ हजार ३०० बराबरको क्षति भएको थियो ।

किसानले व्यहोरेको सम्पूर्ण क्षति पूर्ति गर्न नसकिए पनि केही राहत मिलोस् र आगामी खेतीका लागि पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।

तनहुँमा चैते धानमा सबैभन्दा बढी असर परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । चैते धानमा मरुवा रोग तथा असिना पानीका कारण ठूलो क्षति पुगेको हो । अधिकारीका अनुसार १७२ हेक्टर क्षेत्रफलमा लगाइएको चैते धानमा रु १२ लाख २३ हजार ६०० बराबरको क्षति भएको थियो । त्यसबापत किसानलाई रु तीन लाख पाँच हजार ९०० राहत उपलब्ध गराइएको छ ।

चैते धानसँगै तनहुँको प्रमुख नगदेबालीका रूपमा रहेको सुन्तला खेतीमा पनि हावाहुरी र असिना पानीले ठूलो क्षति पु¥याएको छ । कार्यालयका अनुसार नौ दशमलव तीन हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तला खेतीमा रु १८ लाख ७७ हजार बराबरको क्षति भएको थियो । उक्त क्षतिबापत किसानलाई रु चार लाख ६९ हजार राहत प्रदान गरिएको छ ।

त्यसैगरी, हावाहुरी तथा असिना पानीका कारण तरकारी तथा अन्य बालीमा क्षति पुगेको छ । कार्यालयका अनुसार १२ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी तथा अन्य बालीमा रु छ लाख १८ हजार ७०० बराबरको क्षति भएको थियो ।

कार्यालयले राहत रकम वितरणसँगै किसानलाई पुनः उत्पादनमा फर्काउन आवश्यक सहयोग र प्राविधिक परामर्शलाई पनि प्राथमिकता दिएको अधिकारीले उल्लेख गर्नुभयो ।  रासस