६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको भ्रष्टाचारजन्य गतिविधिविरुद्ध कांग्रेसले भन्डाफोर गर्ने



अ+ अ-

काठमाडौं । राजनीतिक मुद्दा उठाउन नसकेको भन्दै कांग्रेस नेताहरूले नेतृत्वको आलोचना गरेका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै नेताहरूले सरकारको कमजोर कार्यसम्पादन हुँदा पनि कांग्रेसले आफूलाई बदल्न नसकेको भनाइ राखे । आपसी गुटबन्दीले पार्टी प्राथमिकता अलमलमा परेको भन्दै उनीहरूले गुटगत राजनीतिबाट निस्केर तल्लो तहका कार्यकर्तालाई छुने गरी कार्यक्रम गर्न माग गरेका छन् । बैठकमा केन्द्रीय सदस्यहरू महेश आचार्य, प्रदीप गिरि, रमेश रिजाल, डा. मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, गगन थापा, श्याम घिमिरे, डा. डिला संग्रौलासहितका नेता बोलेका थिए ।

बैठकमा कसले के भने ?

प्रजातन्त्रमाथि हमला हुँदा पनि बोलेनौँ :महेश आचार्य
सरकारले प्रतिपक्षी दलका नेतालाई बोलाएर प्रजातन्त्रमाथि हमला भएको भन्दै परिवर्तनकामी शक्ति एक ठाउँमा उभिनुपर्छ भन्ने छलफल गर्यो । लोकतन्त्रवादी शक्ति एक ठाउँमा उभिनुपर्छ भनेर प्रधानमन्त्रीले नै अपिल गर्नुभयो । तर, प्रधानमन्त्रीले यति ठूलो ठाउँ दिँदा हामीले यही विषयलाई किन एजेन्डा बनाउनमा चुक्यौँ ? दुईतिहाइ मतसहित दुई वर्षदेखि सरकारमा हुने लोकतन्त्रविरोधीले लोकतन्त्रलाई खतरामा पार्न सक्ने गरी को–कहाँ चुक्यो ? यसमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विषयमा हामी किन आक्रामक भएर प्रस्तुत हुन सकेनौँ ? यसमा सभापतिले नै बोल्नुपर्छ । संक्रमणकालीन न्यायको विषयमा विदेशीको धेरै ठूलो चासो छ । सभापतिजी तपाईंले बोल्दा मात्रै पनि यसमा आकर्षण हुन्छ । अरूले बोलेर आकर्षण हुँदैन ।

देउवा र पौडेल मिलेर खानुस्, झगडा नगर्नुस् :प्रदीप गिरि
सभापति देउवाजी र नेता रामचन्द्र पौडेलजी तपाईंहरू झगडा नगर्नुस् । मलेसियामा महाथिर ९२ वर्षको उमेरमा प्रधानमन्त्री भए । तपाईंहरू पनि धेरै समय बाँच्नुहुन्छ । मिलेरै पार्टी सभापति र प्रधानमन्त्री भइरहनुहुन्छ । किनकि, तपाईंहरूले अरूलाई छोड्ने पनि होइन । अब जोतिषीलाई बोलाएर हेराएर हुन्छ कि के गरेर हुन्छ, आलोपालो खानुस्, तर झगडा नगर्नुस् ।

गुटले कांग्रेस उँभो लाग्दैन : रमेश रिजाल
कम्युनिस्टहरू हामीलाई पेलेर अगाडि बढ्दै छन् । हामी उल्टै आपसी दन्तबझान र गुटगत राजनीतिमा रुमलिँदा पार्टी उँभो लाग्दैन । न्यायालय, सेना, कर्मचारी, मिडिया सबैमाथि कम्युनिस्टहरूको कब्जा छ । यस्तोमा हामी नै विभाजित भइरह्यौँ भने यो सरकारले कम्बोडिया र पश्चिम बंगालमा जस्तो निर्वाचन गराउँछ ।

आफ्नै कमजोरीबाट सिकौँ : डा.मीनेन्द्र रिजाल
पार्टीभित्रको गुटबन्दी चरम अगाडि बढ्न थाल्यो । ध्रुवीकरणको राजनीति, चरम गुटबन्दीले हामी अगाडिका चुनौती सामना गर्न सक्दैनौँ । कम्युनिस्टको गल्तीका कारण हामीलाई अवसर छ भन्ने सोचेर हुँदैन । कम्युनिस्टको कमजोरीबाट हामीलाई अवसर छ भनेर चुपचाप बस्नुहुन्न । भुइँमा टेकेरै मात्रै कांग्रेसले अगाडिको बाटोलाई प्रभावकारी बनाउनुपर्छ, अघि बढ्नुपर्छ ।
युवाको ठाउँ कहाँ छ ? : गगन थापा
निर्वाचनमा हामीसँग मतदाता रिसाएर भोट नदिएका हुन् । निर्वाचनपछि सरकारसँग रिसाएकाहरू हामीसँग जोडिन सकेनन् । हामीसँग दूरी रहिरह्यो । हामी सरकारलाई काम गरेन भनेर देखाइरहेका छौँ । हामीले जितेका स्थानीय तहमा गर्न खोजेको हो ? हामी वैकल्पिक शक्ति हौँ भनेर हामीले गर्न खोजेको र चाहेको के हो रु भनेर जितेका स्थानीय तहमा किन अभ्यास गर्न सकेनौँ ? केही स्थानीय तहको कर बढी भयो भनेर विरोध गर्ने हामीहरू आफैँले जितेका ठाउँमा किन उदाहरणीय बन्न सकेनौँ ? म केन्द्रीय समितिमा कान्छो सदस्यमध्येमा छु । तर, आधाभन्दा बढी जनसंख्याको लागि म बुढो भइसकेँ ।

६० सालमा जन्मेकालाई आन्दोलनको मतलब छैन । १८ वर्षको उमेरकालाई अनुहार र मुद्दाले जोडेको छैन । आममान्छेसँग पार्टी अलग भयो । सरकारको आलोचना गरेर मात्रै हामीसँग भरोसा हुँदैन । नयाँ युवालाई आकर्षित गर्न नयाँ कार्यक्रम, नीतिगत अवधारणा अगाडि सार्नैपर्छ ।

संविधान संशोधन अभिशाप : श्यामकुमार घिमिरे
संविधान संशोधनको मुद्दालाई एजेन्डा बनाउने गल्ती नगरौँ । हामीले जोडदार उठाए पनि हामीले प्राथमिकता उठाएका भन्दा अरू विषयलाई बल पुग्छ । किनकि, हामीसँग एकतिहाइ मत पनि छैन । अहिले संसदीय प्रणालीका विरुद्धमा कुरा उठ्न थालेको छ । कतिलाई संघीयता नै मन परेको छैन । मधेस र हिन्दूको लागि हामी संशोधनमा जान खोज्ने हो भने संविधानको विरुद्धमा बल पुग्छ । अब आर्थिक मुद्दासँग नजोडिँदासम्म जनमतलाई प्रभावित गर्न सकिँदैन । गरिबका छोराछोरी खाडीमा, धनीका छोराछोरी युरोप र अमेरिका हुँदा काम गर्न सक्ने युवाशक्ति विदेशमा हुनु हाम्रो बिडम्बना हो । यस्तोमा युवा र आर्थिक मुद्दालाई आकर्षित गर्ने गरी केन्द्रित गरौँ ।

प्रतिपक्षी भूमिका प्रभावकारी बनाऔँ : डा. डिला संग्रौला
कांग्रेसले अब सरकारको भ्रष्टाचारजन्य गतिविधिविरुद्ध सातवटै प्रदेशमा भन्डाफोरमा जानुपर्छ । किनकि, हामीमाथि प्रतिपक्षीको भूमिका सशक्त नबनाएको आरोप छ । संघमा मात्रै होइन, प्रदेश र स्थानीय तह र पार्टी संगठनभित्रै पनि प्रतिपक्षीय भूमिकालाई प्रभावकारी बनाउनुपर्छ । छाया सरकार केन्द्रीय सरकारमा मात्र भएर हुँदैन । प्रदेश र स्थानीय तहसम्मै अभ्यास गरौँ ।

केन्द्रमा पनि छाया सरकारलाई प्रभावकारी बनाऔँ । स्थानीय तहको संयन्त्र प्रभावकारी बनाउनुको विकल्प छैन । यस्तै भद्रगोलले अर्को निर्वाचन कसरी जित्ने ? संगठन चलायमान बनाएर नेताहरूलाई व्यवस्थापन गर्नैपर्छ । अन्यथा नेताप्रति आकर्षण, पार्टीप्रति विकर्षणको अवस्था आउँछ । साथै, पार्टीलाई एकताबद्ध गरेर जनताको सम्पर्कमा जान ढिलाइ गर्नुहुन्न ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।