२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो



अ+ अ-

रुकुम पश्चिम। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु हुने तथा घाइते सबैको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका २८ वर्षीय सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की १६ वर्षीया प्रेमकला पुन रहेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिनुभयो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा परेर १२ जना घाइते भएका छन् । गम्भीर घाइते सानीभेरी गाउँपालिका–६ का ३८ वर्षीय बलबहादुर पुन, सोही स्थानका १५ वर्षीय पूर्णबहादुर जैसी, ५० वर्षीया कौशिला पुन र १५ वर्षीया खिमला पुनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरी निरीक्षक गिरीले जानकारी दिनुभयो । अन्य घाइतेको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहान कोटगाउँबाट सिम्लीतर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जिप वडा कार्यालय नजिकै सिम्ली–दुली जोड्ने भित्री सडकखण्डबाट करिब १०० मिटर तल खसेको थियो । जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।  रासस