२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुमञ्जिला पार्किङका रूपमा विकास गर्न सङ्घीय सरकारसँग अनुमति मागेको छ।

काठमाडौँमा बढ्दो पार्किङ समस्या समाधान गर्न सीमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएसी भवनलाई बहुमञ्जिला पार्किङमा परिणत गर्ने प्रस्ताव अघि बढाइएको महानगरपालिकाले जनाएको हो।

आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन अनुमति दिन सङ्घीय सरकारसँग विशेष अनुरोध गरिएको जानकारी दिइन्।

उनका अनुसार एनएसी भवनमा बहुमञ्जिला पार्किङ निर्माण गर्न सकिएमा विशेषगरी काठमाडौँको कोर एरियामा देखिएको पार्किङ समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने महानगरको विश्वास छ।

डंगोलले काठमाडौँभरको पार्किङ समस्या र त्यसको व्यवस्थापनबारे महानगरपालिकाले अध्ययन गरिरहेको पनि बताइन्। विज्ञमार्फत भइरहेको अध्ययनको प्रतिवेदन केही समयभित्र प्राप्त हुने र त्यसमा दिइएका सुझावका आधारमा पार्किङ व्यवस्थापनको योजना अघि बढाइने उनले जानकारी दिइन्।

उनले काठमाडौँको क्षेत्रफल सीमित रहेकाले पार्किङका लागि नयाँ ठाउँ खोज्नुभन्दा उपलब्ध स्थानको उचित र अधिकतम सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताइन्। बढ्दो पार्किङ समस्या समाधानका लागि महानगरपालिकाले अब पार्किङ व्यवस्थापनलाई थप व्यवस्थित र प्रणालीगत ढङ्गले अघि बढाउने उनको भनाइ छ।

“पार्किङको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। यसको व्यवस्थापन गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन,” डंगोलले भनिन्, “उपलब्ध ठाउँको सही सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नु आजको आवश्यकता हो। त्यसै सन्दर्भमा न्युरोडस्थित एनएसी भवनलाई बहुस्तरीय पार्किङका रूपमा विकास गर्न अनुमति दिन सङ्घीय सरकारसँग विशेष अनुरोध गरेका छौँ।”

महानगरपालिकाले विज्ञबाट प्राप्त हुने अध्ययन प्रतिवेदनका आधारमा काठमाडौँभरको पार्किङ व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै समस्या समाधानतर्फ अघि बढ्ने जनाएको छ।