२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

फौजी कीराको प्रकोपले किसान चिन्तित



अ+ अ-

सुरुङ्गा । धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन् । गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी कीराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन् ।

गौराहद–६ का कृषक यादवकुमार बस्नेतले फौजी कीराले आफ्नो डेढ बिघा क्षेत्रफलमा लगाएको धानबाली पाँच दिनमै सखाप पारेको बताउनुभयो । “पहिलोपटक यस्तो कीराको प्रकोप देखापरेको छ”, उहाँले भन्नुभयो, “दिनमा भन्दा रातिमा धेरै यो कीराले बाली नष्ट गर्दोरहेछ ।” स्थानीय खड्गबहादुर कार्कीले आफूले धानखेती गरेको ६० वर्ष बिते पनि यस्तो प्रकोप पहिलोपटक देखेको बताउनुभयो । “यो कीराले दुई/तीन दिनभित्रै धान काटेर सखाप पार्दोरहेछ”, उहाँले भन्नुभयो, “धानको टुप्पो काटेर ठुट्टो बनाएको छ अब के गर्ने ?”

गौरादह–६ को वीरबलचोकमा फौजी कीराको प्रकोप धेरै रहेको स्थानीयवासी शारदा प्रसाईँ पराजुलीले बताउनुभयो । किसानले लगाएको धान फौजी कीराका कारण नष्ट भएपछि कुन औषधि प्रयोग गर्ने भन्ने विषयमा समेत आफूहरुलाई थाहा नभएको उहाँको भनाइ छ । “दिनभरि धानको गाँजमा लुक्ने र रात परेपछि यो कीराले धानका टुप्पा काटेर भुइँमा झार्दोरहेछ”, अर्का किसान चन्द्रप्रसाद पराजुलीले भन्नुभयो, “मेरो पाँच बिघा क्षेत्रफलमा लगाएको धानबाली सखाप बनायो ।”

नगरपालिकाका किसानले दुई बाली धानखेती गर्दै आएका छन् । प्रतिबिघा ९० मनसम्म उत्पादन हुने धानमा फौजी कीराको प्रकोप देखिएपछि अब यसको समाधान कसरी गर्ने भन्ने विषयमा नगरपालिकाले छलफललाई तीव्रता दिँदै समाधानको बाटो खोज्न शुरु गरेको वडाध्यक्ष खड्गप्रसाद पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “फौजी कीराको प्रकोपका कारण १०० भन्दा बढी किसान मारमा परेका छन्, यसको बेलैमा समाधान नखोजे यहाँ भयावह स्थिति आउन सक्छ ।”

फौजी कीराले धानबाली नष्ट गरेपछि वर्षभरि खाने अन्न कसरी जोहो गर्ने भन्दै स्थानीयवासी किसान हेमसागर ओझाले चिन्ता व्यक्त गर्नुभयो । धानबालीमा फौजी कीराको प्रकोपका कारण समस्या सिर्जना भएसँगै स्थानीय भेटेरेनरी सञ्चालक बालकृष्ण दाहालले औषधि प्रयोग गर्न किसानलाई सिकाएको बताउनुभयो ।

सो नगरपालिका क्षेत्रमा फोजी कीराको समस्या देखिएपछि सोमबार कृषि ज्ञान केन्द्रको टोलीले समेत स्थलगत अवलोकन गरेको छ । विराटनगरस्थित बाली संरक्षण प्रयोगशालाका निमित्त प्रमुख मुकेशकुमार यादव, कृषि विकास निर्देशनालयकी अधिकृत सरस्वती श्रेष्ठलगायतको टोलीले समेत गौरादह पुगेर फौजी कीराको प्रकोपको विषयमा अवलोकन गरेको छ ।