१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र मन्त्रीबीच दोस्रोपटक भिडियो कन्फरेन्स



अ+ अ-

काठमाडौं । सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन् ।कुनै एजेण्डामा निर्णय नभए पनि आ-आफ्नो मन्त्रालयमा भएका काम कारवाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको एक मन्त्रीले बताए ।

मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत प्रधानमन्त्रीले चासो राखेका छन् । यसअघि प्रधानमन्त्रीले संसदीय काम कारवाहीका बारेमा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग छलफल गरेका थिए ।

मिर्गौलाको उपचार गर्न सिंगापुर गएका प्रधानमन्त्री ओलीले पहिलो पटक ९ भदौमा मन्त्रिपरिषदका सदस्यहरुसँग भिडियो कन्फरेन्स गरेका थिए । सो भिडियो कन्फरेन्सलाई स्वयं प्रधानमन्त्री ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘मन्त्रिपरिषद बैठक’ भनेपछि वैधानिकतामा प्रश्नमात्र उठेन, संसदमा समेत सरकारको आलोचना भएको थियो ।

तर, सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने सो बैठकलाई ‘भिडियो कन्फरेन्सिङको पहिलो अभ्यास’ मात्र भनेका थिए । उनले प्रधानमन्त्रीले ‘हेलो’ मात्र भनेको र आफूहरुले नमस्कार मात्र गरेको जवाफ संसदमा दिएका थिए ।

प्रधानमन्त्रीसँग सम्पर्क स्थापित गर्न ‘भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरिएको उनले जानकारी दिएका थिए । उनका अनुसार प्रधानमन्त्रीसँग भएको ल्यापटपबाट ट्रान्सफर भएको सूचना पहिले ‘इन्क्रिप्ट’ हुन्छ । ‘त्यसपछि ‘इन्क्रिप्टेड डाटा क्लाउड’मा जान्छ । क्लाउडबाट ‘टीपी सर्भर (टेलिप्रिजेन्स) ले उक्त डाटा ग्रहण गर्छ । त्यसपछि पुनः ‘डिक्रिप्ट’ हुन्छ ।