काठमाडौँ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नदी किनारबाट सडक निर्माण गर्ने सोच र अभ्यासलाई पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।
ललितपुरमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सडक निर्माण गर्दा तत्काल दूरी छोटो हुने वा निर्माण सामग्री सहज रूपमा उपलब्ध हुने पक्षलाई मात्र हेर्न नहुने बताउनुभयो । उहाँले सडक पूर्वाधारले दीर्घकालीन रूपमा मुलुकको अर्थतन्त्र, वातावरण र मानव जीवनमा पार्ने प्रभावको समेत मूल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो ।
विगतमा नदी किनारमा सडक निर्माण गर्दा निर्माण सामग्री सहज रूपमा प्राप्त हुने र छिटो निर्माण गर्न सकिने भएकाले त्यस्तो अभ्यास अघि बढाइएको हुनसक्ने उल्लेख गर्दै उहाँले अब भने त्यसको दीर्घकालीन प्रभावबारे गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो ।
प्रमुख आचार्यले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई)लाई कागजी प्रक्रिया पूरा गर्ने माध्यमका रूपमा मात्रै लिन नहुने बताउनुभयो । उहाँले ईआईए र आईईई वास्तविक अध्ययन, जोखिम पहिचान तथा दीर्घकालीन प्रभावको मूल्यांकनमा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “अलि दूरी छोटो हुन्छ भन्ने हिसाबले मात्रै ग¥यौँ कि हामीले ? यसले लङ टर्ममा देशको सिङ्गो इकोनोमीमा के इम्प्याक्ट पार्छ भन्ने कुरामा अब ध्यान दिनुपर्ने हो कि ? हाम्रो ईआईए र आईईई केवल पेपर कपी–पेस्ट गरेर रिपोर्ट बुझाइदिने विषय त भएनन् नि ?”
एउटा राजमार्गमा पहिरो जाँदा सिङ्गो मुलुकको कनेक्टिभिटी प्रभावित हुने अवस्था किन आयो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उहाँको भनाइ थियो । वातावरणीय तथा प्राविधिक अध्ययन पूरा गरिए पनि व्यवहारमा सडक पटक–पटक अवरुद्ध हुने अवस्थाले पूर्वाधार निर्माणको योजना र अध्ययन प्रक्रियामै कमजोरी रहेको देखाउने उहाँले बताउनुभयो ।
प्रमुख आचार्यले विगतका कमजोरीलाई नीतिगत तहबाट समीक्षा गरी आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिने गरी नीति परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । “जे–जे भयो, अब त्यसलाई नदोहोरिने गरी सुधार गर्न सक्यौँ भने यो सिम्पोजियम दिगो यातायात, खासगरी अर्बान मोबिलिटीका लागि ठूलो अर्थ राख्छ,” उहाँले भन्नुभयो ।
उहाँले सहरी क्षेत्रमा बढ्दै गएको सडक दुर्घटनालाई समेत नीतिगत कमजोरीसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । शहरभित्र यातायातका विभिन्न माध्यम, सडकको अवस्था र ट्राफिक व्यवस्थापनसम्बन्धी तथ्यांकको व्यवस्थित अध्ययन आवश्यक रहेको उहाँको भनाइ थियो ।
“मान्छेको सबैभन्दा ठूलो सम्पत्ति भनेको जीवन हो । हरेक दिनजसो एक दर्जनभन्दा बढी एक्सिडेन्ट सिटीभित्र भइरहेको छ,” उहाँले भन्नुभयो ।
सडक दुर्घटनाका कारण पहिचान गरी नीतिगत तहबाटै सुधार गर्नुपर्ने बताउँदै आचार्यले सडक तथा यातायात पूर्वाधार निर्माणमा दीर्घकालीन आर्थिक, वातावरणीय र मानवीय प्रभावलाई केन्द्रमा राखेर नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार विगतका कमजोरी दोहोरिन नदिने गरी स्पष्ट निर्णयसहित नीति परिवर्तन गर्न सके मात्रै दिगो यातायात र सहरी गतिशीलताको लक्ष्य हासिल गर्न सकिन्छ ।







