काठमाडौं । रसुवाको भोटेकोसी जलविद्युत आयोजनाको सुरुङमा बाढीपछि बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ।
नेपाली सेनाका अनुसार भोटेकोसी बाढीका कारण सुरुङभित्र हराइरहेकाहरूको खोजी गर्ने क्रममा मंगलबार भदौ २३ गते दिउँसो करिब ३ बजे एक जनाको शव फेला परेको हो।
संयुक्त खोज तथा उद्धार टोलीले रसुवा भोटेकोसी जलविद्युत आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा शव फेला पारेको सेनाले जनाएको छ।
सेनाले बाढी प्रभावित क्षेत्रमा रहेका विभिन्न सुरुङमा खोज, उद्धार तथा राहत वितरणका गतिविधि जारी रहेको जनाएको छ। साथै बेपत्ता भएकाहरूको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको बताइएको छ।









