१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुविधायुक्त ठाउँबाट उपचार खोज्दै जुम्लातिर



अ+ अ-

जुम्ला । बाँके कोहलपुरका २३ वर्षीय सुनील कामी भाँच्चिएको खुट्टाको शल्यक्रिया गर्न जुम्ला पुगे । जाजरकोटका ५६ वर्षीय पृथ्वी खत्री पनि हात भाँच्चिएपछि शल्यक्रियाका लागि साताअघि त्यहीँ गए । शल्यक्रियापछि साधारण वार्डमा सारिएका उनीहरू डिस्चार्ज हुने तयारीमा छन् ।

यी दुई उदाहरण मात्र हुन् । पछिल्लो समय नेपालगन्ज, सुर्खेतलगायत सुविधायुक्त ठाउँबाट उपचारका लागि जुम्ला आउने बिरामीको संख्या बढ्दो छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा विशेषज्ञ चिकित्सक र पूर्वाधार थपिँदै गएपछि बिरामी पनि बढेका छन् । शिक्षण अस्पतालमा गुणस्तरीय सेवा, सस्तो सेवा, दक्ष जनशक्ति, अनुकूल वातावरणलगायत सुविधा भएपछि बिरामीहरू यतै आउन रुचाउँछन् ।

शिक्षण अस्पतालले प्रदेश अस्पताल, सुर्खेतलगायत कर्णालीका सबै जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरसमेत पठाएको छ । ४ महिनासम्म प्रदेश अस्पताल सुर्खेतमा प्रतिष्ठानका विशेषज्ञ चिकित्सक डा. मंगल रावल, डा. हरिहर देवकोटा, डा. राजीव शाह, डा. रमेश भट्टराईलगायतले विशेषज्ञ सेवा प्रदान गरेका थिए ।

‘प्रदेश अस्पतालले हिपको हड्डी जोड्न नसकेपछि एक बिरामीलाई यहाँ पठाउँदै गरेको जानकारी पाएको छु,’ डा. रावलले भने, ‘कर्णाली प्रदेशका सबै अस्पतालमा प्रतिष्ठानका विशेषज्ञ चिकित्सक पुगेर उपचार गरेकाले यहाँ आउने बिरामी बढेका हुन् ।’ हाडजोर्नी र नसासहित अन्य शल्यक्रियाका लागि शिक्षण अस्पताल उपयुक्त रहेको उनको भनाइ छ ।

राम्रो उपचार हुन्छ भन्दै हर्नियाको उपचारका लागि बाजुराका मदन महतारा पनि जुम्ला पुगेका छन् । आफ्ना बुबासँग शिक्षण अस्पताल आएका ७ वर्षीय महतरा शल्यक्रियापछि सोमबार डिस्चार्ज हुँदै छन् । विशेषज्ञ डाक्टरको पर्याप्तता, व्यवस्थित अस्पताल र सस्तो शुल्ककै कारण आफू उपचारका लागि जुम्ला आएको बर्दियाका मीनबहादुर विकले बताए । ‘सुनेभन्दा पनि व्यवस्थित र भरपर्दो उपचार पाएँ,’ उनले भने, ‘कर्णाली जस्तो विकट ठाउँमा सुविधायुक्त अस्पताल हुनु सबै बिरामीका लागि वरदान हो ।’

सर्जरी वार्डमा पनि जुम्लाबाहेक जिल्लाका बिरामी वैशाखदेखि असोजसम्म धेरै हुने गरेको सर्जरी वार्ड इन्चार्ज अस्मिता केसीले जानकारी दिइन् ।

‘प्रतिष्ठान स्थापनासँगै सामान्य उपचारका लागि बाहिर जान बाध्य जुम्लावासीले सस्तो शुल्कमा गुणस्तरीय उपचार पाएका छन्,’ उनले भनिन्, ‘जनशक्ति उपकरण, पूर्वाधार र औषधि आपूर्तिमा सुरुदेखि नै विशेष ध्यान दिइरहेका छौं, जसले बिरामीको विश्वास बढिरहेको छ ।’ गत वर्ष अस्पतालमा साविक कर्णालीबाहेकका जिल्लाबाट उपचारका लागि २ सय ६९ बिरामी जुम्ला पुगेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए ।

‘ठूला अस्पतालको तुलनामा जुम्लामा उपचार र शल्यक्रिया शुल्क कम भएकाले विपन्न बिरामी सुविधा सम्पन्न ठाउँबाट पनि यहीँ आउँछन्,’ उनले भने, ‘यहाँ कार्यरत विशेषज्ञ चिकित्सकले विभिन्न जिल्लामा उपचार गरेकाले पनि बिरामीको विश्वास बढी छ ।’ जुम्लाको चिसो मौसमका कारण शल्यक्रिया गरेका बिरामी चाँडो निको हुने गरेका छन् । क्रमशः सेवालाई व्यवस्थित एवं गुणस्तरीय बनाउँदै लगिएको उनले जनाएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।