काठमाडौँ। नेपाली काँग्रेसले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि सरकारी कोषमा एक करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
सोमवार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै पार्टी प्रवक्ता देवराज चालिसेले बाढीपीडितको उद्धार र राहतलाई पार्टीले उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।
प्रवक्ता चालिसेकाअनुसार पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । अर्थमन्त्रीले समेत यति ठूलो रकम सहयोग गर्ने नेपाली काँग्रेस पहिलो राजनीतिक दल भएको उल्लेख गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
काँग्रेसले बाढीपीडितको उद्धार र राहत कार्य अझै प्रभावकारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । प्रवक्ता चालिसेले सरकार ‘प्रचारमुखी भन्दा पनि परिणाममुखी’ हुनुपर्नेमा जोड दिनुभयो । प्रभावित क्षेत्रमा हैजाको प्रकोप फैलिन सक्ने जोखिमप्रति शतर्क रहन र पुनस्र्थापनाका लागि दीर्घकालीन योजना बनाउन काँग्रेसले सरकारलाई आग्रह गरेको छ । विपद् व्यवस्थापन विभागका संयोजक मोहन आचार्यसहितका विज्ञहरूको परामर्शमा पार्टीले एक विस्तृत नीतिगत प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने निर्णय समेत गरेको छ । जसमा भत्किएका पूर्वाधारको दिगो पुनर्निर्माण र भविष्यमा हुनसक्ने क्षतिको न्यूनीकरणका उपायहरू समावेश हुनेछन् ।
यस्तै, प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसङ्घको भ्रमणका सन्दर्भमा जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे दरिलो ढङ्गले आवाज उठाउन काँग्रेसले सुझाव दिने भएको छ ।
बैठकले पार्टीको १४ औँ महाधिवेशनसँग जोडिएको सदस्यता नवीकरण र अध्यावधिक सम्बन्धी विवादलाई समेत समाधान गरेको छ । पुस महिनासम्म नवीकरण गरिसकेका तर प्राविधिक कारणले डिजिटल प्रणालीमा ‘अध्यावधिक’ हुन नसकेका सदस्यहरूलाई अधिवेशनमा भाग लिनबाट वञ्चित नगर्ने निर्णय भएको छ ।
प्रवक्ता चालिसेले भन्नुभयो, ‘पार्टीलाई आधुनिक र डिजिटल बनाउन अध्यावधिक प्रक्रिया शुरु गरिएको हो, तर यसैका कारण कोही पनि सदस्य मताधिकारबाट वञ्चित हुने छैनन् । अनुशासन उल्लङ्घन गरेका वा स्वेच्छाले पार्टी छाडेका बाहेक अन्य सबै सदस्यले अधिवेशनमा भाग लिन पाउने ढोका खुलेको छ ।’
बाढीपहिरोका कारण देशका ४० भन्दा बढी जिल्ला प्रभावित भएकाले तत्कालै वडा अधिवेशन सञ्चालन गर्न कठिनाइ भएको भन्दै कांग्रेसले निर्वाचन समितिलाई कार्यतालिका परिमार्जन गर्न अनुरोध गरेको छ ।
पार्टीले आगामी असोज १६, १७ र १८ गतेका लागि तय गरिएको केन्द्रिय महाधिवेशनको मुख्य मिति परिवर्तन नहुने गरी प्रारम्भिक चरणका निर्वाचन कार्यक्रमहरू केही दिन पर सार्न निर्वाचन समितिलाई सुझाव दिएको छ । यसबारे निर्वाचन समितिले मङ्गलवार बस्ने बैठकबाट आधिकारिक निर्णय लिने प्रवक्ता चालिसेले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल









