२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी



अ+ अ-

काठमाडौँ। भोटेकोशी बाढीमा परी २ सय ३३ जना यातायात मजदुर बेपत्ता भएका छन् ।

गत भदौ १० गते गएको भोटेकोशी बाढीमा परी यातायात क्षेत्रमा अपूरणीय मानवीय तथा भौतिक क्षति पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको हो ।

महासंघकाअनुसार हालसम्म प्राप्त विवरणानुसार २ सय ३३ जना चालक तथा सहचालक बेपत्ता भएका छन् भने करिव ९ सय वटा सवारी साधनमा क्षति पुगेको छ ।

भदौ १० गतेको भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूको स्मरणमा जडिबुटीमा आयोजित स्मृति सभामा बोल्दै महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातायात क्षेत्रले बेहोर्नुपरेको भयावह क्षतिको विवरण सार्वजनिक गर्नुभएको हो ।

नेपाल अरनिको यातायात प्रा.लि. १८ वटा बस, १ मिनी ट्रक, २ जिप र ४ वटा कन्टेनर पूर्ण रूपमा ध्वस्त भएका छन् । यस कम्पनीका ५० भन्दा बढी मजदुर तथा स्वरोजगार व्यवसायी हराइरहेका छन् ।

नमस्ते पासाङ ल्हामु यातायात प्रा.लि. १८ वटा बस र २१ जना कर्मचारी बेपत्ता छन् । नारायणी यातायात व्यवसायी प्रा.लि.५९ वटा ट्रक तथा कन्टेनर र ७० जना मजदुर बेपत्ता छन् ।

नेपाल टिपर तथा ट्रक व्यवसायी समिति (कलंकी) का ७ वटा टिपर, २२ कन्टेनर, २३ ट्रक र १ ट्रेलरसहित ४० जना कर्मचारी सम्पर्कविहीन छन् ।

हिमालयन यातायात प्रालि का ४ ट्रक, १६ कन्टेनर, १ सुमो र ७ वटा टिपरका साथै १० जना चालक÷सहचालक बेपत्ता छन् । भक्तपुर न्यू भिजनका ६ सवारी र २ मजदुर, नेपाल माइक्रो कम्पनीका ९ माइक्रोबस र ९ मजदुर, पृथ्वी राजमार्ग कम्पनीको १ बस र २२ यात्रीसहित चालक, धादिङ मण्डली र धादिङ ग्रामीण यातायातका सवारी साधन र मजदुरहरू हराइरहेका छन् ।

महासंघकाअनुसार १९१ वटा सवारी साधन हराएको पुष्टि भइसकेको छ भने करिव ३ सय बस, १ सय माइक्रो÷मिनीबस र ४ सय ट्रक तथा कन्टेनर गरी कुल ९ सय को हाराहारीमा सवारी साधनमा क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

महासंघले विपद्को यस घडीमा सरकारसँग विशेष राहत र सहयोगको माग गरेको छ । अध्यक्ष सिटौलाले बाढीमा बगेका र बेपत्ता भएका सवारी साधनको बैंक तथा वित्तीय संस्थाको किस्ता तत्काल रोक्का गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भोलिदेखि नै बैंकहरूले ताकेता गर्ने अवस्था आउन सक्छ, त्यसैले ती सवारीको किस्ता अहिलेलाई स्थगित गरी उचित क्षतिपूर्ति र बिमा भुक्तानीको व्यवस्था मिलाउनुपर्छ ।’

ज्यान गुमाएका र बेपत्ता भएका चालक तथा मजदुरका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरूको उपचारको व्यवस्था गर्न महासंघले आग्रह गरेको छ । यातायात व्यवसायीहरूले ठूलो क्षति व्यहोरेर पनि सरकारको उद्धार कार्यमा हातेमालो गरिरहेको बताएका छन् ।

कलंकीस्थित टिपर व्यवसायी संघले विभिन्न क्षेत्रमा उद्धारका लागि निःशुल्क टिपर सेवा उपलब्ध गराइरहेको र महासंघका पदाधिकारीहरू कार्यक्षेत्रमै खटिएर खोजी कार्यमा जुटेको जानकारी दिइएको छ ।

यसैबीच, अरनिको यातायात कम्पनी प्रालिले ठूलो भौतिक क्षति व्यहोरे पनि सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री राहत कोषका लागि १ लाख ११ हजार १११ रुपैयाँको चेक महासंघमार्फत हस्तान्तरण गरेको छ ।

बाढीपहिरोका कारण काठमाडौं जोड्ने लाइफलाइन मानिने पृथ्वी राजमार्गको कृष्णभीर, परेवा भीर र मलेखु पुल लगायतका क्षेत्र क्षतविक्षत भएको महासंघले जनाएको छ ।

सडक अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ र ग्यास बोक्ने ठूला सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् । महासंघले वैकल्पिक मार्गहरूबाट सेवा दिने प्रयास भइरहेको भएपनि देशभरका सडक सञ्जाल अस्तव्यस्त रहेकाले मर्मत कार्यलाई तिब्रता दिन सङ्घीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।–न्युज एजेन्सी नेपाल