ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भोटेकोशीमा गएको बाढी लगातै स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ ।
बिपद्पछि प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारले गरेको काम, समस्या, चुनौतीबारे जानकारी दिन आज प्रदेश सुशासन केन्द्र ललितपुरमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री थापा मगरले भोटेकोशी बाढीबाट प्रभावित जिल्लामा उद्धार, राहत, सडक सञ्चालन, स्वास्थ्य व्यवस्थापन र जनजीविकालाई सहज बनाउने कामलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढाएको जानकारी दिनुभयो ।
“भदौ १० गते बिहान ११ बजे नै बैठक बसेर उद्धार तथा राहतका काम अघि बढायौँ, त्यसपछि हेटौँडामा नै बसेको बैठकले प्रदेश सरकारका सबै मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखलाई बोलाएर विपद् प्रभावित क्षेत्रमा तत्काल परिचालन हुन निर्देशन दिइएको थियो, सङ्घीय सरकारले राहत सामग्री सङ्कलन र समन्वय गर्ने, प्रदेश सरकारले समन्वय तथा सहजीकरण गर्ने तथा स्थानीय सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने गरी काम गर्ने हो,” उहाँले भन्नुभयो ।
मुख्यमन्त्री थापा मगरले विपद्का कारण बागमती प्रदेशका चार जिल्लाका १५ वटा स्थानीय तह प्रभावित भएका र यस क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको बताउनुभयो ।
उहाँले विपद्मा सुरक्षा निकायले निरन्तर समन्वय र उद्धारमा काम गरिरहे पनि प्रभावकारी समन्वय हुन नसक्दा आशातीत रुपमा प्रभावकारी काम हुन नसकेको बताउनुभयो । उहाँले प्रदेश विपद् व्यवस्थापन कोषबाट तत्काल राहतका लागि प्रभावित जिल्लालाई रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री थापन मगरले अलपत्र नागरिकका लागि चारवटा होल्डिङ सेन्टर सञ्चालन गरी खाना तथा आवश्यक सामग्रीको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
“रसुवा र नुवाकोटलाई रु एक एक करोड तथा धादिङ र चितवनलाई रु ५०–५० लाख राहत उपलब्ध गराउने निर्णयअनुसार व्यवस्थापन गरेका छौँ, शव व्यवस्थापन, डीएनए परीक्षण, स्वास्थ्य सेवा तथा १६ मनोपरामर्शदाता परिचालन गरिएको छ,” उहाँले भन्नुभयो ।
मुख्यमन्त्री थापा मगरले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म शिक्षा तथा आवश्यकताअनुसार आवासीय विद्यालयको व्यवस्था गरिने जानकारी गराउँदै प्रदेश सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म काम गर्ने बताउनुभयो । रासस









