चितवन । मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक मर्मतको काम जारी रहेकाले नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा समेत सवारी आवागमनमा आंशिक रोक लगाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले कृष्णभीरमा सडक मर्मत भइरहेका कारण उक्त सडकखण्डमा सवारी आवागमन बन्द रहेको र त्यसको प्रत्यक्ष प्रभाव नारायणगढ–मुग्लिन सडकखण्डमा समेत परेको जनाएको छ । सोही समयको सदुपयोग गर्दै तुइनखोला क्षेत्रमा माटो कटानको काम अघि बढाउन लागिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार भदौ २२ गतेदेखि कृष्णभीरमा मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सुचारु नभएसम्म तुइनखोला क्षेत्रमा दैनिक रूपमा तोकिएको समयअनुसार सवारी साधन सञ्चालनमा रोक लगाइनेछ ।
निर्धारित तालिकाअनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म सवारी बन्द हुनेछ भने ८ बजेदेखि ८ः३० बजेसम्म खुला गरिनेछ । त्यसपछि ८ः३० देखि १०ः३० बजेसम्म बन्द र १०ः३० देखि ११ बजेसम्म खुला हुनेछ ।
त्यस्तै, ११ बजेदेखि दिउँसो १ बजेसम्म बन्द गरी १ बजेदेखि १ः३० बजेसम्म सवारी सञ्चालन गर्न दिइनेछ । दिउँसो १ः३० देखि ३ः३० बजेसम्म पुनः बन्द रहनेछ भने ३ः३० देखि ४ बजेसम्म खुला गरिनेछ ।
त्यसपछि ४ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द रहने र साँझ ६ बजेपछि सवारी सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
कृष्णभीरमा सडक मर्मत भइरहेका बेला तुइनखोलामा माटो कटानको काम अघि बढाउँदा न्यूनतम संख्यामा सवारी साधन प्रभावित हुने भएकाले यस्तो व्यवस्था गरिएको प्रशासनको भनाइ छ ।









