१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न



अ+ अ-

ललितपुर। ललितपुरका मल्ल राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ ।

हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा यस वर्ष मङ्गलबार सम्पन्न भएको हो । कुनै पनि दैवी प्रकोप नहोस् तथा विश्वमा शान्ति कायम रहोस् भन्ने कामनासहित यो जात्रा मनाउने गरिन्छ ।

ललितपुरका छ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताका आधारमा पालैपालो जात्राको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिएर सञ्चालन गर्ने परम्परा रहिआएको छ । यस वर्ष अग्निशाला वःलिम्हका भूपति राजानन्द राजोपाध्यायको परिवारले जात्रा सञ्चालन गरेको हो ।

भगवान् विष्णुले नृसिंह अवतार धारण गरी दानव हिरण्यकशिपुको वध गरेको पौराणिक घटनाको स्मरणमा यो जात्रा सञ्चालन गरिन्छ । बाजागाजा तथा भजन टोलीसहित नृसिंहको स्वरूपलाई ललितपुरको प्राचीन नगर परिक्रमा गराइन्छ । नृसिंहतर्फ फर्केर हातमा धूप लिएर प्रणाम गर्दै भक्त प्रह्लादले जस्तै उल्टो पाइला चाल्दै नगर परिक्रमा गर्ने विशेष परम्परा यस जात्रामा रहेको छ ।

नृसिंहको दायाँ–बायाँ लक्ष्मी र सरस्वतीलाई राख्ने चलन छ भने जात्रामा छ जोडी कन्याको समेत सहभागिता रहने गर्दछ । पालो परेको परिवारका पुरोहित, ज्वाइँ वा भाञ्जामध्ये एक जना नृसिंहको स्वरूप धारण गरी ललितपुरको प्राचीन नगरीको सायाः अर्थात् सापारु मार्गमा नगर परिक्रमा गर्ने परम्परा रहेको छ ।

नृसिंह जात्राका क्रममा बाजागाजा र प्रत्यक्ष भजनसहित नृसिंह देवगणको टोलीले पाटनका गाबहाल, पिम्बहाल, बङ्गलामुखी, कोबहाल, मङ्गलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टङ्गल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डीलगायत विभिन्न स्थानको परिक्रमा गर्ने गर्दछ ।

जात्राको क्रममा विभिन्न स्थानमा नृसिंहलगायत देवताहरूको विसर्जन गरी पूजापाठ गर्ने चलनसमेत रहेको छ । नृसिंह यात्राका क्रममा नृसिंहले आफ्नो पछाडि लतार्दै कपडाको पुतली ल्याउने विशेष परम्परा पनि रहेको छ । जात्राको क्रममा उक्त कपडाको पुतलीलाई बालबालिकालाई ढोगाउने चलन छ । यसरी कपडाको पुतलीलाई ढोगाउँदा बालबालिकाको रक्षा हुने र उनीहरूलाई शुभ हुने धार्मिक तथा सांस्कृतिक विश्वास रहेको छ ।

ललितपुरमा नृसिंहका दुई फरक स्वरूप रहेको मानिन्छ । कार्तिक नाचमा प्रस्तुत गरिने नृसिंहलाई उग्र स्वरूपका रूपमा लिइन्छ भने उपालकं सायाःका नृसिंहलाई शान्त स्वभावको नृसिंहका रूपमा मान्ने गरिन्छ ।

ऐतिहासिक दस्तावेजअनुसार नेपाल संवत् ७५१ अर्थात् विक्रम संवत् १६८८ देखि नृसिंह जात्रा सञ्चालन हुँदै आएको उल्लेख पाइन्छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो जात्रा ललितपुरको मौलिक सांस्कृतिक परम्परा र जीवन्त सम्पदाका रूपमा आजसम्म निरन्तर रहँदै आएको छ । रासस